एनएमबि बैंकलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता ३३३ रुपैयाँ

काठमाडौं । एनएमबि बैंक लिमिटेडलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले शुक्रबार एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार भएको छ ।

बजारमा परिसूचक र कारोबार दुबैमा गिरावट, ट्रेडिङ् बाहेक सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो । दिनभर कारोबारमा आएका सूचक मध्ये ट्रेडिङ् बाहेक सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११५ अंकले घटेको छ । ट्रेडिङ समूह भने २.९६ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् समूहको सबैभन्दा बढी अर्थात १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार सबैभन्दा बढी मेघा बैंकको सेयर मूल्य ९.६५ प्रतिशतले घटेकोे छ ।

मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस दिँदै, चुक्ता पुँजी ७६ करोड नाघ्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत(अर्थात ४ करोड ३४ लाख रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको बोनस वितरण गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पश्चात फाइनान्सको पुँजी ७६ करोड रुपैयाँ नाघ्ने छ ।