बुधबारको सेयर बजारमा १४ अंकको गिरावट
काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित भएको छ । कम्पनीको आर्थिक वर्ष २०७२/०७३ को वित्तीय विवरण बीमा समितिबाट अस्वीकृत भएपछि कम्पनीको सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित भएको हो । कम्पनीको बोनस र हकप्रद सेयर वितरण तथा निश्कासनको प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । साथै, बीमा समितिले परिमार्जन सहित पुनः वित्तीय विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, भदौ २१ गते बुक क्लोज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि भदौ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त बुक क्लोजसम्बन्धि निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।