आरएमडिसीको ८७ हजार कित्ता सेयर लिलामीमा
काठमाडौं । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड(आरएमडिसी)को ८७ हजार कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । नेपाल ग्रामिण विकास बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसीको ८७ हजार ५ सय ६४ दशमलब ७४ कित्ता संस्थापक सेयर मूल्य बढाबढमा लिलामी गर्न लागेको हो । आरएमडिसीको सो सेयर खरिदका लागि भदौ १५ गतेदेखि २३ गतेसम्म प्रति कित्ता न्युनतम ४०१ रुपैंयाँ भन्दा बढि कबोल गरेर आवेदन दिन सकिनेछ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । आरएमडिसीको सेयर खरिदका लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।
एभरेष्ट इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा तोकेको हो । सो मात्राको सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा मंगलबार एभेरेष्ट इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
ज्योति विकास बैंकले प्राप्त गर्यो राप्तीभेरी विकास बैंक, स्वाप रेसियो १ बराबर १ अनुपात
काठमाडौं । ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विसजशन) गरेको छ । बैंकले सोमबार सम्पन्न कम्पनीको एक विशेष साधारणसभाबीच नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको उक्त राप्तीभेरी विकास बैंकलाई प्राप्त गरेको हो । साथै, सभाले ७ जना संचालक समिति रहने प्रावधान समेत स्वीकृत गरेको छ । त्यसैगरी, संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक बराबर एक अनुपात) लाई अन्तिम स्वीकृति प्रदान गर्ने सभाले जनाएको छ । उक्त सभाले राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौता पत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने जनाएको छ । सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा संजाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउदै आएको छ । बैंक आ.व.७३/७४ मा १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ९ अर्व १३ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको थियो । यस अवधिमा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन सफल रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।