कुश्मा–बलेवा यान्त्रिक पुलले अठार प्रतिशत लाभांश बाँड्ने
पर्वत । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । उक्त लिमिटेडले आव २०७३/७४ मा ९० लाख ४७ हजार ३९४ रुपैयाँ मुनाफा वितरण गर्न लागेको हो । लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि ९० करोड ४७ हजार रुपैयाँ मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । “यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उनले भने । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो । पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिए । पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि १ सय १४ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।रासस
सेयर बजारमा ९ अंकको गिरावट, ९० करोड ९३ लाखको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ । बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको ९.९९, हिमालयन डिष्टीलरीको ९.९६ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । आइतबार उत्पादनमूलक र विकास बैंक समूहको परिसूचक क्रमशः २७ र ६ अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचकम भने ४५ अंकले ओरालो लागेको छ । त्यस्तै, सोमबार कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।
एनआइडिसीको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा एनआइडिसी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । यस बैंक राष्ट्रिय वाणिञ्य बैंकसँग मर्ज हुँदै छ । सोही कारण सोमबार एनआइडिसीको सेयर कारोबार बन्द भएको हो ।