तेह्र जलविद्युत् आयोजनाका अरबौंको साधारण सेयर आउँदै
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर जारी गर्न पाऊँ भन्दै आवेदन दिनेको सङ्ख्यामा समेत बढोत्तरी भएको बोर्डले जनाएको छ । जलविद्युत् कम्पनी, आयोजना प्रभावित स्थानीयवासी र आमनागरिकलाई सेयर निष्कासनका लागि निवेदन दिन आह्वान गरिएको बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिए । सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रूपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् । बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ । आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत वैशाख १२ गते निवेदन दिएको हो । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई एक अर्ब ६४ करोड २१ लाख बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत वैशाख १३ गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ । बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ । शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपिओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ । साधारण सेयर नै जारी नगरीकन एफपिओ जारी गर्न दिने कि नदिने भन्ने बारेमा बोर्डले अध्ययन गरिरहेको उपनिर्देशक घिमिरेले बताए । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले सात करोड ६४ लाख ५५ हजारको साधारण सेयर निष्कासन गर्न लागेको छ । लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ । उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ । बोर्डमा दिइएको निवेदनका आधारमा साधारण सेयर जारी गर्ने अवधि भएको छ कि छैन वा कागजी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने आधारमा निर्णय गरिने उपनिर्देशक घिमिरे बताउँछन । उता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं लगानीका लागि उपयुक्त क्षेत्रका रूपमा जलविद्युत् आयोजना देखिएकाले सङ्ख्यामा समेत वृद्धि भएको जानकारी दिए । अध्यक्ष गुरागाईंकै कम्पनी न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई पाँच करोड बराबरको र लमजुङ जिल्लालाई १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।
लक्ष्मी बैंकको ३८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई कम्पनीको १६औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सो मात्राको बोनस सेयर पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउने बैंकले जनाएको छ । सभाका अनुसार प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १०० प्रतिशत हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुनेछन् । साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित गरेको छ । आ.व. २०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिद्धार्थ र नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर लिलामीमा, असार १४ गतेदेखि आवेदन खुला
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बङ्गलादेश बैंकको गरी १८ लाख ४५ हजार ५५६ कित्ता सेयर लिलामीमा रहेको छ । सो मात्राको सेयरको लागि दुबै बैंकले असार १४ गते(भोली) देखि बिक्री खुला गरेका छन् । सिद्धार्थ बैंकको ८ लाख ५७ हजार ४३६ कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ४ लाख ५ हजार ८८८ कित्ता संस्थापक र ४ लाख ५१ हजार ५४८ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको ८ लाख ५७ हजार ४३६ कित्ता सेयरहरु लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर असार १४ गतदेखि खुला गरिने छ । साथै, असार २१ गतेसम्ममा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवदेन गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्तासेयर लिलामीमा आएको छ । बैंकको १९ हजार ५११ कित्ता संस्थापक र ९ लाख ६८ हजार ६०८ कित्ता सर्वसाधारण सेयर गरी सो मात्राको सेयर लिलामीमा राखेको हो ।बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा सर्बसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । असार २१ गतेसम्ममा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आवदेन गर्न सकिनेछ ।