नेप्से परिसूचक २४ अंकले ओरालो, होटल बाहेक सबै सूचक राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक २४ अंकल ओरालो लागेर १३९०.५८ अंकमा अडेको छ । कारोबार खुलेको करिब २ घण्टामा करिब ३० अंकले घटेको बजार त्यसपछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको हो । दोहोरो अंकले घटेको बजारमा ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १५८ कम्पनीको १८ लाख २५ हजार कित्ता सेयर किनबेच भएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहका परिसूचक राताम्मे भएका छन् । सो दिन बीमा समूहको ८३, अन्य समूहको ५५, माइक्रोफाइनान्सको ३७, विकास बैंक र बैंकिङको १६/१६ अंकले र हाइड्रोको १२ अंकले परिसूचक ओरालो लागेका हुन् । होटल समूहको भने सामान्य ४ अंकले बजार उकालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकको ४ सय प्रतिशत हकप्रद सेयर माघ २ देखि

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि फागुन ८ गतेसम्म एक सय रुपैंयाँ मूल्यका १ः ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । पुस १६ गतेअघि सेयर खरिद गरेका लगानीकर्ताहरुले हकप्रद सेयर पाउनेछन् । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

सेयर बजार २१.५३ अंकले ओरालो, कारोबार ७६ करोड

काठमाडौं । बुधबार पनि सेयर बजार २१.५३ अंकले आरोलो लागेको छ । बुधबार बजार खुल्ने वित्तिकै ओरालो लागेर १४२२.३२ अंकमा झरेको बजार १२ः३० बजे फेरी बढेर १४४३.३० अंकमा पुगेको थियो । तर त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः २१.५३ अंकले घटेर १४२५.५१ अंकमा आईपुगेको हो । बजार घटेको भएपनि बुधबार ७६ करोड ५७ लाख रुपैंयाँ मूल्यमा १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । दोहोरो अंकले बजार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटेर सेयर र स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर १० करोड भन्दा बढि मूल्यको कारोबार भएको छ ।