बुधबारको सेयर बजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ४२ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव आएको छ । बजार खुल्दा १४९३ अंकमा रहेको नेप्से करिब एक घण्टामा १० अंकले ओरालो लागेर १४८३ अंकमा पुगेको थियो । त्यस पछि फेरि एक घण्टाको अवधिमा ९ अंकले बढेर १४९२ अंकमा पुगेको नेप्से पछि पुन ओरालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ९.२९ अंकले झरेर १४८४ अंकमा आइपुगेको छ । बजारमा नेप्से सहित कारोबार रकममा पनि गिरावट आएको छ । बुधबारको बजारमा कुल १५५ कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको जस्तै बुधबार पनि सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३१ र २६ अंकले झरेका छन् ।
आइपीओ निष्काशन गर्ने आईएमई लाइफको तयारी, पाउला त अनुमति
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आफ्नो प्रथम बार्षिक साधारण सभाबाट आइपिओ निष्काशन गर्ने निर्णय गराउन लागेको हो । कम्पनीले बीमा समितिमा आइपिओ निष्काशनको अनुमति माग्दै लबिङ गर्दै आएको थियो । कम्पनीले पुस २६ गतेको प्रथम साधारण सभाबाट आइपिओ निष्काशनको एजेण्डा पास गराउन लागेको हो । बीमा समिति र नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको आइपिओ निष्काशन गर्नेछ । कम्पनीले गत आव २०७३।७४ को १० दिन वित्तिय विवरण पेश गरेको छ । तर धितो पत्र दर्ता तथा निष्काशन नियमावलीले भने आफ्नो उदेश्य अनुसार कारोबार गरेको एक बर्षको वित्तिय विवरण सार्वजनिक गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । यस अघि नै युनियन र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने भन्दै साधारण सभाबाट निर्णय गराईसकेका छन् ।
विभिन्न चार कम्पनीले तोके बुक क्लोजको मिति, कसको कहिले हुँदै छ?
काठमाडौं । विभिन्न चार बैंक तथा वित्तीय संस्थाले आ-आफ्नो बुक क्लोजको मिति तोकेका छन् । मंगलबार मात्रै ग्रामीण विकास बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, गोखार्ज फाइनान्स र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि आ-आफ्नो कम्पनीको बुक क्लोजको मितिको तोकेका हुन् । त्यसमध्ये ग्रामीण विकास बैंकको आगामी पुस १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक पुस २८ गते आफ्नो वार्षिक साधारणसभामा जाँदै छ । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को पनि आगामी पुस १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी पनि पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । त्यसैगरी, गोखार्ज फाइनान्सको पनि आगामी पुस १४ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुँदै छ । यस फाइनान्स पुस २५ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था आगामी पुस २४ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि १७ गतेसम्म यस कम्पनीको बुक क्लोज हुँदै छ ।