जनसेवी लघुवित्तको शतप्रतिशत हकप्रद पारित, चुक्ता पुँजी ९ करोड ८० लाख पुग्यो
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर पारित भएको छ । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको यस संस्थाको दोश्रो बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । संस्थाका अध्यक्ष विकाश गौचनको सभापतित्वमा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन लाई छलफल गरी पारित गरेको बताइएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ पुग्नेछ भने जारी पुँजी १४ करोड रुपैयाँ पुग्नेछ । संस्थापकहरुमा हकप्रद शेयर निश्कासन पश्चात ४ करोड २० लाख रुपैयाँ बराबरको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्री गरी संस्थाको चुक्तापुँजी १४ करोड पुर्याउने अध्यक्ष बिकाश गौचनले बताए । २०७२ आश्विन २२ देखि कारोवार शुरु गरेको यस वित्तीय संस्थाले कारोवारको दोश्रो वर्षसम्ममा १० जिल्लामा २० वटा शाखा मार्फत १० हजार भन्दा वढि महिलाहरुलाई सामुहिक जमानीमा ६४ करोड लगानी गरी २१ लाख ४९ हजार रुपैयाँ मुनाफा गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।
नेरुडे र सूर्योदय लघुवित्तले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेका छन् । नेरुडे लघुवित्तको आगामी पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुन लागेको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि यस कम्पनीको उक्त २१ दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते हुँदै छ । सभामा सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर सहित ७.६८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरिने कम्पनीले जनाएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको पनि आगामी पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले एक करोड ८४ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई एक करोड ८४ लाख २१ हजार ५३ रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको २१.२१ प्रतिशतले हुन आउने एक करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर वापत ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । २१.२१ प्रतिशत बोनस सेयरपछि कम्पनीको पुँजी ९ करोड ९९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९५८ रुपैयाँ रहेको छ ।