भुजुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । माघ १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।  लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।

ओएन बायोटेकले आईपी‌ओ जारी गर्ने, बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार सम्झौतापत्रमा ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे । विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ । कम्पनीका उद्योग क्षेत्रहरू तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा सञ्चालनमा छन् । कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू- पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ । साथै गहुँ, जुनेलो र कोदो प्रयोग गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन उत्पादन तथा आपूर्ति पनि गरिरहेको छ । ताजा च्याउको बजारीकरणसँगै कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको ड्राई मसरुम उत्पादन गरिरहेको छ भने भविष्यमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ । यसका अतिरिक्त, मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने कार्य पनि कम्पनीले गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको मोबाईल एपमा ‘लाइभ मार्केट’ सुविधा, आईपीओ आवेदन पनि दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक समयमा पाउनेछन् । बैंकका अनुसार लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, स्टक कम्प्यारिजन, क्यालकुलेटर र ब्रोकर लिस्ट लगायतका जानकारीहरू समेटिएका छन् । यसबाट लगानीकर्ताले बजारका अवसरहरू र आफ्नो लगानीको अवस्था सजिलै ट्र्याक गर्न सक्नेछन् । यस सुविधामा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब–किताब गर्न सहयोग गर्दछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मनपर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्ड निगरानी गर्न सुविधा दिन्छ । स्टक कम्प्यारिजनले विभिन्न सेयरको तुलनात्मक विश्लेषणमा मद्दत गर्ने बैंकले जनाएको छ ।  त्यस्तै, ग्लोबल स्मार्ट प्लसबाट अब आईपीओ आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी खुल्ला भएको आईपीओमा सजिलै आवेदन दिन सक्नेछन् । बैंकले एपमार्फत आईपीओ खुला भएको जानकारी समेत उपलब्ध गराउने छ, जसले लगानीकर्तालाई अन्य माध्यम प्रयोग नगरी आवेदन दिन सहज बनाउँछ । ग्लोबल स्मार्ट प्लस मार्फत यसअघि उपलब्ध बैंकिङ सेवाहरू जस्तै रकमान्तरण, क्युआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी अब सेयर बजार र आईपीओ सुविधासँग जोडिएर प्रयोगकर्ताका लागि थप उपयोगी बनेको छ ।