रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ । पुस ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गगरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोष, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको हो ।  अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । पौष ०८ गते मंगलबार बुढानिलकण्ठ, काठमाडौंस्थित होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । क्लव चौलानी लिमिटेड २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन पश्चात् कम्पनीको पूँजी संरचना थप सबल भई होटल पूर्वाधार निर्माण, सेवा विस्तार तथा दीर्घकालीन व्यावसायिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ३७ अंकले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ ।      बुधबारको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।      कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।