फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७४ प्रतिशत छलाङ, लाभांश क्षमता १०.१३ प्रतिशत
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १९ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको १० करोड ९८ लाख ४६ हजार रुपैयाँको तुलनामा ७३.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशतले बढेर २२ करोड ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २१ करोड १६ लाख ८१ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा १५ करोड ७६ लाख १५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस आधारमा लाभांश क्षमता १०.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ९ करोड ३ लाख ४० हजार रुपैयाँ तथा लाभांश क्षमता ६.७२ प्रतिशत थियो । १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्ष जगेडा कोषमा ३० करोड ७३ लाख ८५ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षमा लघुवित्तले ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँ सापटी परिचालन गरी ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। लघुवित्तको कर्जा सापटी अनुपात (सीडी रेसियो) १२०.१५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.१८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ८.१७ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.६५ गुणा तथा प्रतिसेयर नेटवर्थ १३७.२६ रुपैयाँ रहेको छ । लघुवित्तको कुल खराब कर्जा घटेर २.८८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष कुल खराब कर्जा ३.८४ प्रतिशत रहेको थियो ।
कामना सेवा विकास बैंकको नाफा साढे ८९ करोड रुपैयाँ, लाभांश क्षमता १५.१६ प्रतिशत
काठमाडौं । कामना सेवा विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ३३.५० प्रतिशत बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष चौथो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशत बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशत बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । गत वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ । चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत छ । समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षमा बैंकको ईपीएस १९.०८ रुपैयाँ थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.८४ गुणा र प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ । बैंकको कुल खराब कर्जा ३.७७ प्रतिशत र खुद खराब कर्जा ०.५५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको कुल खराब कर्जा ३.४९ प्रतिशत र खुद खराब कर्जा ०.२८ प्रतिशत रहेको थियो ।
प्रधानमन्त्री-गभर्नरको भेट र अर्थमन्त्रीको सन्देशले नेप्सेमा उछाल, वर्षको पहिलो दिन हरियाली
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता बढी सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत अग्रस्थानमा छ । कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रूपैयाँ, रिलाइन्स स्पिनिङको १५ करोड ६० लाख रूपैयाँ, रिडी पावरको १५ करोड ३६ लाख रुपैयाँ र न्यादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँ बराबर कारोबार भएको छ । यस्तै, आज श्रीनगर एग्रीटेकको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । उपसमूहतर्फ म्युचुअल फन्डबाहेक सबै सूचक हरियालीमा रहे । बैंकिङ समूह २.४१ प्रतिशत, डेभलपमेन्ट बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रोपावर समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत तथा ट्रेडिङ समूह ०.८३ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड उपसूचक भने ०.२९ प्रतिशतले घटेको छ । बजारमा आएको यो उत्साहलाई लगानीकर्ता तथा ब्रोकरहरूले सकारात्मक रूपमा लिएका छन् । एक ब्रोकर व्यवसायीका अनुसार बजार हरियाली भएसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । सबल कम्पनीको सेयरमा ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ उपलब्ध हुने व्यवस्थाले लगानीकर्तामा उत्साह थपिएको उनको भनाइ छ । बजारले लामो समयदेखि यस्तै सकारात्मक सेन्टिमेन्टको अपेक्षा गरिरहेको र बैंकको ब्याजदर तथा अन्य नीतिगत व्यवस्था पनि अहिले अनुकूल रहेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजी बजारसँग सम्बन्धित नीतिगत व्यवस्था सहजीकरण गर्न दिएको निर्देशनले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयबाट सेयर बजारसम्बन्धी सकारात्मक सन्देश आउनुले समेत बजारप्रति आशा बढाएको उनले बताए । पछिल्ला केही दिन डिबेन्चरको कारोबार बढे पनि शुक्रबार कम्पनीहरूको सेयर कारोबार उल्लेख्य रूपमा बढेकाले आजको वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ । एक लगानीकर्ताका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारप्रति नयाँ अपेक्षा र उत्साह बढेको छ । उनका अनुसार बजारसँग सम्बन्धित आधारभूत विषयमा खासै नकारात्मक परिवर्तन नभएकाले नयाँ वर्षसँगै सकारात्मक गतिविधि बढ्ने आशा लगानीकर्तामा देखिएको हो । उनले पछिल्ला दिनमा रहेका विभिन्न शंका-आशंका क्रमशः हट्दै गएको बताए । उनका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरूको साधारण सभा तथा लाभांश घोषणाको सिजन सुरु हुने अपेक्षाले पनि लगानीकर्ताको खरिद चाप बढेको हुन सक्छ ।