विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्ने भएको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
१३४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २५८४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सागर डिस्टीलरीको ८ करोड, सीईडीबी होल्डीङसको ७ करोड, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख र मन्जुश्री फाइनान्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशतले घटेका छन् ।