एसियन हाइड्रोको लक इनमा रहेको सेयर फागुन १३ गतेदेखि कारोबारमा आउने

काठमाडौं । एसियन हाइड्रोपावरको सेयरको लक इन अवधि फागुन १३ मा सकिँने भएको छ । कम्पनीको संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको (लक इन) सेयरको अवधि आगामी फागुन १३ गते समाप्त हुने भएको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम सार्वजनिक निष्कासन गरिएको सेयर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा भएपछि लक इन अवधि स्वतः समाप्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार कम्पनीको लक इन अवधि २०८२ फागुन १३ गते सकिन लागेको हो । कम्पनीका अनुसार कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयर कारोबारका लागि फुकुवा हुनेछ । जसमध्ये संस्थापक सेयरधनीहरूको २२ लाख २० हजार कित्ता, संस्थाका कर्मचारीहरूको १६ हजार ८०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको ३ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि सकिनेछ ।  लक इन अवधि समाप्त भएपछि उक्त सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबारमा आउनेछ । ​​​एसियन हाइड्रोपावरको सेयर रजिस्ट्रार तथा निष्कासन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने समय २ दिन लम्बियो

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने समय २ दिन लम्बिएको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।

सूर्यकुण्ड हाइड्रोले माघ १८ गतेदेखि आईपीओ बिक्री गर्ने, ५० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखि बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १ सय रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्नेछ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय फागुन ३ गतेसम्म लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।