४२ अंकले बढ्यो नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ३९ करोड, मन्जुश्री फाइनान्सको ३७ करोड, ग्रीन भेन्चरको ३० करोड र एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा धेरुै होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । आज गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले अब माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् ।

हाईल्याण्ड डिष्टिलरीको २६.३१ प्रतिशत लाभांश घोषणा, प्रिमियम वा बुकबिल्डिङ्गमा आईपीओ

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी लिमिटिडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड ८४ लाख रुपैयाँको २५ प्रतिशतका दरले १५ करोड ९६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले ८४ लाख रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत अर्थात् १६ करोड ८० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते बिहान ११ बजे रजिस्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित, चालु आवको आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र प्रबन्ध संचालकको पारिश्रमिक पारित गर्नेछ ।  यस्तै सभाले कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सेयर प्रिमियम मूल्य, बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  यस्तै कम्पनी ऐन, २०६३ को दफा ९१(२) बमोजिम प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । साधारण सभाले विशेष प्रस्ताव पारित गरी कम्पनीमा पुरा समय काम गर्ने सञ्चालकहरुलाई प्रोत्साहन दिन कम्पनीले तिर्नु पर्ने आयकर तिरिसकेपछि बाँकी रहेको मुनाफाको तीन प्रतिशतमा नबढाई पुरस्कार दिन सक्ने उक्त व्यवस्थामा उल्लेख छ । तर प्रचलित कानून अनुसार अन्तिम रुपमा आयकर निर्धारण हुँदा कम्पनीले थप आयकर तिर्नु पर्ने भएमा कम्पनीले त्यस्तो थप करको रकम पुरस्कार प्राप्त गर्ने सञ्चालकहरुबाट निजहरुले पुरस्कार बापत प्राप्त गरेको रकमको हदसम्म समानुपातिक रुपमा असुल उपर गरी लिनु पर्नेछ ।