नेपाल बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सोही निर्णयअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको बैंकले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।  जसमा कम्पनीले ३९ करोड ३३ लाख ९५ हजार ७ सय ३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।

प्राइम कमर्सियल बैंकको ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।