भुजुङ्ग हाइड्रोले माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार सञ्चालक समितिको पुस ७ गते र पुस २२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । नेपाल बीमा प्राधिकरणले जारी गरेको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार सेयर बिक्री प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ । उक्त संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ । यदि संस्थापक सेयरधनीहरूबीच ३५ दिनभित्र खरिदबिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सानिमा रिलायन्सको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफलसहित पारित भयो । साथै बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्थाहरूबीच मर्जरसम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । सभामा प्रस्तुत विवरणअनुसार विगत वर्षहरूमा व्यवसाय तथा वित्तीय सूचकमा उतारचढाव भए तापनि चालु आर्थिक वर्षमा संस्थाको कार्यसम्पादन उल्लेखनीय रूपमा सुधारिएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६४ करोड पुगेको छ भने कर्जा ८.७० प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख पुगेको छ । सभामा सेयरधनीहरू डा. बालकृष्ण चापागाईं र दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको प्रगति र भविष्यका योजनाप्रति शुभकामना व्यक्त गरे । साथै अन्य विभिन्न सेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए । सभाको अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकका रूपमा योगदान पुर्याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने तीनवटा शाखा कार्यालयलाई ‘बेस्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको छ ।