एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने भएको छ । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । सम्झौतामा एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणि खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको हो ।    अस्पतालको थप सेवा विस्तारको लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी गराए । एनपीआई नारायणी सामुदायिक हस्पिटलको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ । हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।

१९ अंकले घट्यो नेप्से, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ । आइतबार कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज एसवाई प्यानल लिमिटेड र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिवेञ्चरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । १३ उपसमूहमध्ये म्युचल फण्ड बढेको छ भने बाँकी रताम्मे देखिएका छन् । म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ । 

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।  यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक  शालिकराम अधिकारीले बताए ।