२४ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ अंकले घटेर २६०८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३६५ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै टक्सार पिखुवाको ११ करोड, आँखु खोलाको ९ करोड ८९ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ६१ लाख र याम्बलिङ हाइड्रोको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज स्नो रिभरकाे सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
प्राइम बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, ६.२५ प्रतिशत ब्याज पाइने
काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय असार ३० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
सोमबार ४ कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेर २६३२ बिन्दुमा झरेको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा, याम्बलिङ हाइड्रो, स्नो रिभर र धौलागिरी लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेकाे छ । नेप्सेका अनुसार २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५१ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोपन फर्माको ८८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ८७ करोड, रिलाइन्स स्पिीनिङको ८१ करोड र आँखु खोलाको ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।