नेरुडे मिर्मिरे लघुवित्तबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ७ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । विभिन्न ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् ।  लघुवित्त संस्थाका अनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले १ लाख कित्ता, बासु खड्काले ५ हजार ३६० कित्ता, कुमार भट्टराईले ४४७ कित्ता, कुमारी शान्ता आचार्यले ९ हजार ३४८ कित्ता, भुवनसिंह तामाङले ८ हजार कित्ता र लक्ष्मी भण्डारीले ४ हजार ८५६ कित्ता संस्थाप सेयर बिक्रीमा राखेका हुन् ।  लघुवित्तको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय भित्र आवेदन नआए सर्वसाधारण लगानीकर्ताहरुका लागि उक्त सेयर बिक्रीमा गरिने लघुवित्तले जनाएको छ । 

सेयर बजारमा साढे ८ अंकको गिरावट, २ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार (आज) सेयर बजारमा साढे ८ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त गिरावटपछि २६५१.५२ विन्दुमा छ ।  आज २ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।  नेप्सेका अनुसार आज ८३ वटा सेयरको मूल्य बढ्दा १७२ वटाको घटेको र १९ वटाको स्थिर रहेको छ । टक्सार पिठुवा खोला हाइड्रोपावर १४.९९ प्रतिशत, याम्बलिङ हाइड्रोपावर १४.९९ प्रतिशत र कालिका लघुवित्त १२.८४ ले बढेका छन् । अन्य सेयर अधिकतम ५.१६ प्रतिशतसम्म बढेको नेप्सेले जनाएको छ । भुजुङ हाइड्रो ११.०३ प्रतिशत घटेको छ । यसबाहेक अधिकतम ८.९७ प्रतिशतसम्मले सेयरहरु ओरालो लागेको नेप्सेले जनाएको छ । कारोबारमा भने १२ करोड ७७ लाखसहित सोपान फरम्यास्युटिकल्स अगाडि छ ।  समूहगत सूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह ०.१४ प्रतिशतले बढेको छ । बाँकी १२ समूह घटेको छ ।

बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाईम फर्मास्यूटिकल्स, असार १९ मा रोड शो

काठमाडौं । टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई आईपीओको आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सञ्चालन हुने उक्त कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिनेछ। रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए सोसमेत पेश गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश छन् । टाईम फर्मास्यूटिकल्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। टाईम फर्मास्यूटिकल्स नेपालका पुराना तथा स्थापित औषधि उद्योगमध्ये एक हो । सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले औषधिजन्य अणु (फार्मास्युटिकल मोलिक्युल) को फर्मुलेसन तथा विभिन्न उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ । सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा एम÷एस अल्फा क्यापिटल लिमिटेडको करिब १५ प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टाको करिब ९–९ प्रतिशत तथा जी.नारायण बहादुर क्षेत्रीको करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी स्वामित्व अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्तामा रहेको छ ।