सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ६ करोड ८९ लाख ६७ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका बासिन्दाहरूलाई छुट्याइएको छ । साथै सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले पुस २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन दिने समय माघ ८ गतेसम्म लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस १४ गतेभित्र आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा पुस २३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले ज्योती विकास बैंक समुन्द्रटार, कृषि विकास बैंक खैरेनीटार, राष्ट्रिय वाणिज्य बैंक खैरेनीटार, ट्रेड टावर, थापाथली स्थित रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँ पालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । 

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

कृषि विकास बैंकको १९औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ । सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ । साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।