रिडी पावरको २४ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पारित गर्दै लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहित वित्तीय विवरण अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोकेको छ । साथै कम्पनीको नियमावली अद्यावधिक गर्ने, नियामक निकायमा आवश्यक कार्य गर्न र कम्पनीका गाडी, स्क्राप तथा अन्य सेयर सम्पत्ति बिक्री गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ । अध्यक्ष नेपालले सभामा सेयरधनी, सञ्चालक समितिका सदस्य र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीको २५ औं साधारणसभा भव्यरूपमा मनाउने योजना भएको जानकारी दिए । कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । बिहीबार वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
पाल्पा सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज पुस २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ । सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।