सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज असार २ गते अन्तिम दिन रहेको छ । जेठ २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सेयर बजारमा ४ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजारमा समान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटे २७११ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १०.२५ प्रतिशत एनबीबीएल डिभेन्चरको २७ करोड, लक्ष्मी सनराइजको २२ करोड, एसवाई प्यानलको २० करोड, रिलाइन्स स्पिनिङको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

स्वीकृति नलिई पौने ८ अर्ब सेयर कारोबार

काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सहित ११ कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृति नलिई धितोपत्र बजारमा लगानी गरेको पाइएको छ । प्राधिकरणबाट जारी लगानी निर्देशनअनुसार बीमकले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा दश प्रतिशत सम्म लगानी गर्न सक्ने व्यवस्था छ । प्रधिकरणबाट लगानी निर्देशन संशोधन भई जीवन निर्जीवन र पुनर्बीमा व्यवसाय गर्ने बीमकको हकमा निर्देशनमा तोकिएको सीमाभन्दा बढी लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर, ११ बीमक तथा सहायक कम्पनीले धितोपत्र बजारमा लगानी गर्न बीमा प्राधिकरणबाट अनुमति नलिएको र निश्चित समूह गठन गरी योजनाबद्ध रुपमा सेयर कारोबार गरेको देखिएको छ ।  प्राधिकरणबाट स्वीकृत नलिई धितोबजारमा लगानी गर्ने बीमकहरुमा हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स हिमालयन सेक्युरिटिज्, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, गार्डिएन माइक्रो लाइफ, लिवर्टी माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।  साहयक बीमक कम्पनीहरुमा हिमालयन इन्भेष्टमेन्ट बैंकर, हिमालयन क्यापसर्व र  हिमालयन इन्भेष्टमेन्ट बैंकरले प्राधिकरणबाट अनुमति नलिई शेयरमा लगानी गरेका छन् । लगानी निर्देशन, २०८२ अनुसार पुनर्बिमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाउने तथा कुनै एक कम्पनीको शेयरमा लगानी गर्दा सो कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने स्पष्ट सीमा निर्धारण गरेको छ । तर कानुनी व्यवस्थाको पालना नगरी हिमालयन रिइन्स्योरेन्सले पहिले नै लगानी सीमा नाघिसकेको अवस्थामा समेत भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत शेयर खरिदका लागि रकम उपलब्ध गराएको देखिएको छ ।  हिमालयन रि इन्स्योरेन्सहित १० व्यक्ति तथा संस्थाहरुको ७ अर्ब ७६ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार रहेको पाइएकाे छ । जसअनुसार हिमालयन रि इन्स्योरेन्सले ३  अर्ब ८८ करोड ९६ लाख १७ हजार रुपैयाँको कारोबार गरेको पाइएको छ । हिमालयन सेक्युरिटज् बैंकरले १० करोड ७५ लाख रुपैयाँ कारोबार गरेको पाइएको छ । हिमालयन क्यापसर्वले १ अर्ब ३३ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको १९ करोड ५० लाख रुपैयाँ, गार्डिएन माइक्रोले १० करोड ५४ लाख रुपैयाँ, क्रेस्ट माइक्रो इन्स्योरेन्सले २२ करोड १२ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको पाइएको छ । हिमालयन रिइन्स्यारेन्सले आफ्ना कोषको रकम बीमकको हित एव आम लगानीकर्ताहरुको हित प्रतिकुल प्रतिवादीहरु दीपक भट्ट र शुलभ अग्रवालको लाभका लागि कोषको रकम दुरुपयोग गरेको पाइएको छ । काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोग पत्रअनुसार हिमालयन इन्स्योरेन्सबाट ब्रोकरको खातामा रकम ट्रान्सफर गर्नुको प्रमुख उद्देश्य नै प्रतिवादी शुलभ अग्रवालको योजना एवं उनले चाहे अनुकुल सो रकम अग्रवालले चाहेका दीपक भट्ट समेतका मानिसका नाउँमा शेयर खरिद गर्नु रहेको देखिएको छ । प्रतिवादी शेखर गोल्छाले आफू अध्यक्ष रहेको हिमालयन रिइन्स्योरेन्सको कोषको रकम दुरुयपोग गर्ने वातावरण बनाई दीपक भट्ट र शुलभ अग्रवाललाई हिमालयन रिइन्स्योरेन्सकै रकम दिएको ब्रोकर नं. ५५ मा नै आफ्नो व्यक्तिगत रकम ५२ करोड ५० लाख रुपैयाँ उक्त ब्रोकरमा आफ्नो डिम्याट नै नभएको कुरा थाहा हुँदाहुदै सेयर कारोबार गर्न भनी सो रकम जम्मा गरेको खुलेको छ । रकम जम्मा गरी नेपाल रिइन्स्योरेन्सको शेयर कर्नरिङ गरी सो कम्पनीमाथि आफ्नो समूहको प्रमुख हिस्सा शेयर हात पारी सो कम्पनी आफ्नो नियन्त्रणमा लिने योजनामा प्रत्यक्ष रुपले सहभागी भएको देखिएको छ ।  प्रतिवादीहरु शुलभ अग्रवाल र दीपक भट्टले नेतृत्व गरेका समूह निर्माण गरी उक्त समुहले आफ्नो प्रत्यक्ष आर्थिक हित नियन्त्रण गर्ने हिमालयन रि इन्स्योरेन्स नेपाल माईक्रो इन्स्योरेन्स, गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स लगायतका सवै संस्थाहरुको शेयर खरिद विक्री तथा सेटलमेन्टका निर्णयहरु प्रतिवादीहरु आफू संलग्न रहेको कम्पनीहरु सौर्य सिमेन्ट इष्डष्ट्रिज र जगदम्बा स्टिलको गैरीधारा स्थित कार्यालयबाटै सञ्चालन गरेको खुलेको छ । जगदम्बा स्टिलको गैरीधारा स्थित कार्यालयबाटै सञ्चालन गरेको तथ्यसमेत खुलेका छ ।  यस आधारमा सबै कम्पनीका सम्बन्धित पदाधिकारी समेतको संलग्नतामा विभिन्न बीमकहरुको शेयर खरिद बिक्रीको निर्णय स्वतन्त्र रुपमा ती संस्थाको आफ्नो लगानीको क्षमता धितोपत्र बजारबाट प्राप्त गर्ने लाभ तथा यसको विविधीकरण समेतका आधारमा नभई शुलभ अग्रवाल र दीपक भट्ट समेतको योजना र चाहना बमोजिम खरिद गर्ने, सवै संस्थाको डिम्याट र टिएमएस ब्रोकर नं. ५५ खाता खोली प्रतिवादीहरुकै चाहना र सुविधाको लागि निरन्तर रकम उपलब्ध गराउने गरेको पाइएको छ ।