७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक

काठमाडौं । नेशनल क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते बिहान साढे १० बजे प्रथम (आर्थिक वर्ष २०८०/८१) र दोस्रो (आर्थिक वर्ष २०८१/८२) वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण, २ जना स्वतन्त्र सञ्चालक रहने सञ्चालक समिति गठन र नियमावली संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा १०औँ साधारण सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै अब कम्पनीले सेयरधनीहरुलाई २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ । पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन

काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो ।  जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो । रिलायन्सले निष्काशन गरेको ५७ हजार ७ सय ९८ कित्ता सेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई सेयर वितरण गरिएको छ । नेपाली पुँजी बजारमा म्युचुअल फण्डलाई दक्ष र अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने एक वित्तीय औजार मानिन्छ । रिलायन्सको सेयर खरिद गर्न पुँजी बजारबारे जानकार संस्थाहरूमा देखिएको आकर्षणले कम्पनीको मजबुत वित्तीय अवस्था, भविष्यप्रतिको भरोसा र विश्वास पुष्टि गरेको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पनि झण्डै गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो । निर्धारित अवधि (बिहीबार) सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ । नेपाली पुँजी बजारको इतिहासमा वैदेशिक रोजगारकर्ताहरूको आईपीओमा परेको यो सम्भवतः सबैभन्दा बढी आवेदन हो । रिलायन्सले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्काशन गरेको थियो ।  निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने छैन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो ।  सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि निर्धारित अवधिभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् । रिलायन्स स्पिनिङ मिल्स ३२ वर्ष लामो इतिहास बोकेको प्रतिष्ठित कम्पनी हो । कम्पनीले ४ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ, जसमध्ये करिब १ हजार ३०० महिला छन् ।  कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलरभन्दा बढीको निर्यात गर्दै आएको छ ।  मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ जबकि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।  गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी बृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा अघिल्लो वर्षको तुलनामा करिब साढे ९ गुणा वृद्धि भएको छ । २०८०/८१ मा २.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २०८१/८२ मा २७.८७ रुपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।