सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
घोराही सिमेन्टको ४ करोड बढी सेयरको लकइन असार ३१ गते सकिँदै
काठमाडौं । घोराही सिमेन्ट उद्योगको ४ करोड बढी कित्ता सेयरको लकइन सकिने भएको छ । कम्पनीको संस्थापक, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको नाममा रहेको ४ करोड ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लकइन असार ३१ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको २४ हजार ७०५ कित्ता र कर्मचारीको ९७ हजार ७७२ कित्ता सेयरको लकइन सकिन लागेको हो । लकइन अवधि समाप्त भएसँगै सम्बन्धित सेयरधनीले प्रचलित कानुन तथा नियमअनुसार ती सेयर कारोबार गर्न सक्नेछन् । सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । घोराही सिमेन्ट उद्योगको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड, सीटी होटलको १६ करोड, अप्पर हेवाखोलाको १४ करोड र सेन्ट्रल फाइनान्सको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक हाइड्रो, सोपन फर्मा र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।