एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । यस एनएलजी इन्स्योरेन्स कम्पनीको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं । कुमारी क्यापिटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको लाभांश घोषणा गरेको हो । कोष ब्यबस्थापक कुमारी क्यापिटलले दुइटै फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ दुवै फण्डले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।
सोनापुरको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयलाई आवेदन दिने समय लम्बियो
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई भने आवेदन दिने समय थप गरेको छ । अब स्थानीय लगानीकर्ताहरुले कम्पनीको आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।