श्रीनगर एग्रीटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भविष्यमा निष्काशन गर्ने आइपीओको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १ सय रुपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नेछ । सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द्र श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको हो । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आइएसो ९००१ : २०१५ प्रमाणित एकिकृत कुषि व्यवसाय हो । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै सन २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिजबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ । कम्पनीले, श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ । उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंगले श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिथिल सेयर बजारमा कुथेली भने निरन्तर उकालो, पाँच अंकले ओर्लियो बजार
काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ । सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ । सेयर बजारमा केही दिन यता सुस्तता आएसँगै कारोबार रकम पनि अर्ब मुनी नै सीमित भइरहेको छ । सोमबारको कारोबारको तुलनामा मंगलबार झन घटेर कारोबार भएको छ । मंगलबार २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा भने ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मुल्य सूचीकृत भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । अहिले कुथेली बुखरी हाइड्रोमध्ये सेयर बजारमा पहिलो नम्बरको कम्पनी भएको छ । मंगलबार मात्रै उक्त कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । मंगलबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको तीन करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक राताम्मे भएको छ ।
मिथिला लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको १९ लाख ६० हजार २७ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै संस्थाको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ । यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ४० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।