सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
माथिल्लो मैलुङले साउन ४ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले असार ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २५ प्रतिशत अर्थात् २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार १८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दालाई ढिलोमा भदौ १ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
आईएमई लाईफको आईपीओमा १३ लाखको आवेदन, पौने ४ अर्बको सेयर माग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको थियो । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको गरेको थियो ।