छुट्ला है ! आईएमई लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारणले आज असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि पुनः बिक्री खुला गरेको आईपीओमा आज असार २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार एक सय ४३ रुपैयाँ, सोल्टी होटल १४ करोड आठ लाख ४८ हजार आठ सय २६ रुपैयाँ, अरुण काबेली पावर १२ करोड एक लाख ९८ हजार नौ सय ३६ रुपैयाँ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार चार सय ४३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, रावा इनर्जी नौ दशमलव ९८, सिटी होटल नौ दशमलव ५१, प्रभु बैंकको ऋणपत्र आठ दशमलव २२, सनराइज बैंकको ऋणपत्र आठ दशमलव २१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । त्यस्तै, माथिल्लो तामाकोशी छ दशमलव ६५, बीपीडब्ल्यू लघुवित्त चार दशमलव ४३, लिवर्टी इनर्जी तीन दशमलव ६०, जोशी हाइड्रोपावर तीन दशमलव ४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।