आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद पारित, नयाँ आयोजनामा लगानी गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो । कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ । यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए । सभामा बोल्ने सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए । भव्य र सभ्यरुपले सम्पन्न भएको साधारणसभालाई कम्पनी सचिव शम्भु तिमल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

असार २९ गतेदेखि एकीकृत कारोबार गर्दै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं । मर्जर प्रकृयामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्न लागेका हुन् । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब १९ करोड (बोनसपछि) रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । तेश्रो त्रैमासको रिपोर्ट अनुसार प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओ आजदेखि पुनः बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।