प्रभु क्यापिटलले मेडिकल चिकित्सकलाई दियो सेयर बजारमा लगानी सम्बन्धि तालिम

काठमाडौं । प्रभु क्यापिटलद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा बुधबार सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका उक्त कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले गरेका थिए भने उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटलको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए । सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

सिटिजन र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने, प्रतिकित्ता कसको कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार १९ गते एकैदिन दुबै जीवन बीमा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । दुई कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात २ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १४४ प्रिमियममा (अर्थात प्रतिकित्ता २४४ रुपैयाँमा) एक करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता सेयर कम्पनीको कर्मचारीलाई छुट्याइएको छ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कूल कित्तामध्ये सन नेपालले ४ लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ । त्यस्तै, इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । सिटिजन लाइफको तुलनामा सन नेपाल लाइफको आईपीओ सस्तो देखिएको छ । सन नेपालको आईपीओ प्रतिकित्ता ५ रुपैयाँले सस्तो छ ।

सेयर बजारमा असार मसान्तको प्रभाव मात्रै कि बुलिस ट्रेण्डको संकेत ?

काठमाडौं । लामो समयदेखि ओरालो लाग्दै तल्लाे विन्दुमा कारोबार भइरहेको सेयर बजारमा पछिल्लो एक महिनामा भने हरियाली नै देखिएकाे छ । एक महिनाको अवधिमा सेयर बजार साढे २ सय अंकले बढ्याे भने कारोबार रकम पनि ह्वात्तै वृद्धि भयाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कअनुसार कारोबारकाे एक महिनामा नेप्से परिसूचक २५४ अंकले बढेको छ । २०८० जेठ ४ गतेदेखि असार १८ गते सोमबारसम्म ३० दिन सेयर कारोबार भएको छ । सो अवधिमा पूँजी बजार २५४ अंकले बढेको छ भने ९७ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् । साथै, बैंकको ब्याजदर पनि घट‍्न थालेकाले त्यसकाे प्रभाव समेत सेयर बजारमा पर्दा काराेबारकाे आकार बढ्न थालेकाे लगानीकर्ताहरुकाे विश्लेषण छ । पछिल्ला दिनमा ठूला लगानीकर्ता सेयर बजार प्रवेश गरेपछि कारोबार रकम बढेको कतिपय लगानीकर्ताहरुको दावी छ । लगानीकर्ता तारा फुलेल सेयर बजारले वियरिस ट्रेण्ड पार गरेर बुलिस ट्रेण्डको बाटोमा अघि बढीरहेको बताउँछन् । असार मसान्त नजिक आएकाले बजार तलमाथि हुनु स्वभाविक रहे पनि बजारकाे नेचर भने अन्ततः बुलको तयारीमा रहेको उनी बताउँछन् । ‘बैंकको ब्याजदर घट्दोक्रममा छ । ब्रोकरको दायरा फराकिलो हुँदैछ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम गर्दै आएको छ’, उनले भने । ‘बजारमा लगानीकर्तालाई चाहिने कतिपय विषयमा बोर्डले देखिने गरी काम गरिरहेको छ,’ फुलेलले भने, ‘बैंकहरुले ब्रोकर कारोबार सुरु गर्न थालेपछि देशको दूरदराजसम्म वा बैंकको शाखा कार्यालय पुगेको ठाउँसम्म ब्रोकरको सेवा पुग्नेछ । हरेक स्थानीय तहसम्म ब्रोकर सेवा पुग्छ । लगानीकर्ताले यी विषय बुझेकाले पनि बजारमा सकरात्मक उर्जा थपिइरहेकाे छ ।’ उनकाअनुसार केन्द्रीय बै‌क मार्जिन लेण्डिङकाे विषयमा पनि नरम हुने संकेत देखिएकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको हुँदा सेयर बजारका सन्दर्भमा सकारात्मक नीति आउन सक्ने उनको भनाइ छ । बजारमा काल्पनिक भन्दा पनि फण्डामेन्टलका आधारमा घटबढ हुने उनले बताए । ‘सेयर बजारमा नकारात्मक हिट गर्ने गरी राष्ट्र बैंकले यो भन्दा बढी गर्ने कुनै पनि ठाउँ बाँकी छैन । सेयर बजारलाई कस्नुसम्म कसिसकेको छ । लगानीकर्तालाई जतिसम्म अफ्ठ्यारो पार्नु पर्ने हो राष्ट्र बैंकका नीतिहरुले पारिसकेको छ । अब खुकुलो बनाउने मात्रै विकल्प छ । तरलता सहज भएर ब्याजदर घट्दैछ,’ उनले भने । इन्ट्रा डेमा तलमाथि भइरहेकाले बजारका लागि याे सुन्दर पक्ष भएकाे उनी बताउँछन् । तर, डे वाइज तलमाथि हुनु असार मसान्तको असर हुनसक्ने फुलेलले बताए । उनले भने ‘हिजो १ अर्ब कारोबार हुन धौंधौं परिरहेको अवस्थामा अहिले ५/६ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ, यो भनेको बजारमा लगानीकर्ता भित्रिए भन्ने संकेत हो । बजारमा पालैपालो सबै सेक्टरले लिड गर्छ ।’ ब्रोकर सञ्चालक अतित लाल श्रेष्ठ करेक्सन भएर बजार बाउन्स ब्याक हुँदै उच्च बिन्दुमा पुग्ने बताउँछन् । बैंकहरुले सेयर कर्जा प्रवाहमा जोड दिइरहेकाले अझै बढ्ने उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीहरुको पनि पूँजी परिचालन हुने भएकाले बजारमा पूँजी परिचालन हुने उनले बताए । ‘नयाँ ब्रोकर कम्पनीको १२ अर्ब रुपैयाँ फ्रिज (जाम) भएर बसेको छ। बैंकमा निक्षेप मात्रै थप्रिएको छ । यदि नयाँ ब्रोकर कम्पनीले काम गर्न सुरु गरेपछि जाम भएर बसेको पैसा परिचालन हुन्छ । बजारमा तरलता बढ्छ । लगानीकर्ताहरुले त्यसमै रमाइलो गर्न पाउँछन्,’ उनले भने, ‘नयाँ ब्रोकर कम्पनीहरुले बजार चलायमान गर्छन् । अहिले बजार तलमाथि हुँदा लगानीकर्ताहरुले नाफा बुक गरेका हुन सक्छन् ।’ अर्का लगानीकर्ता अम्मर डंगोलकाअनुसार बजार अलिकति करेक्सन हुँदै माथि जाने हो । बैंकको सेयर बढ्दा बजार बढ्ने र घट्दा पुरै घट्ने भइरहेको उनले बताए । अबको बुलमा बीमा कम्पनीहरुले लिड गर्ने उनले बताए । ‘बीमा, होटल कम्पनीहरु बढ्न थालेको छ, बैंक पनि केही दिनअघिसम्म बढेको थियो, बैंक बढ्दा बजार बढेको थियो, फेरी बैंकको सेयर घट्न थालेपछि बजार घटेको देखिन्छ,’ उनले भने, ‘बीमा सेक्टर जति बढेको छ त्यति घटेको देखिँदैन, अब बुल आयो भने बीमाले लिड गर्ने संकेत गरिरहेको छ, बीमा कम्पनी बजारमा बलियो देखिएको छ ।’ बैंकहरुमा तरलता उच्च भए पनि लगानी शुन्य हुँदा बजारलाई फाइदा पुगेको उनले बर्ता । बैंकहरु लगानी गर्न डराइरहेकाले सीडी रेसियो पनि ८३ प्रतिशतमा झरेको उनले बताए । यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनले बताए । मौद्रिक नीति खुकुलो आएपछि बजारलाई सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । उनका अनुसार बैंकको ब्याज र किस्ता तिर्नु पर्ने भएकाले असार २२ गतेसम्म बजार करेक्सन हुन सक्ने उनको भनाइ छ । ‘बैंकको ब्याज तिर्नका लागि बजार घटिरहेको छ, बैंकहरुले कर्जा लिएका ऋणीहरुलाई असार २५ गतेभित्र तिर्नु भनेर फोन गरिरहेका छन्, मलाई पनि फोन गरेर २५/२६ गतेभित्र ब्याज तिर्नु भनेको छ,’ उनले भने, ‘पहिला ३० गतेसम्म तिर्न पाइन्थ्यो, अहिले २५/२६ गतेभित्र भुक्तानी गर भनेर बैंकबाट फोन आइरहेको छ, जसको दबावले बजार घटेको हुन सक्छ ।’