घोराहीमा जोखिम देख्दा पनि सीआईटीको महँगो अण्डरराइटिङ, सेबोनले बार्गेनिङ गरेको आशंका

काठमाडौं । घोराही सिमेन्टमा जोखिम देख्दा पनि नागरिक लगानी कोष (सीईआटी)ले अण्डरराईटिङ गरेको भेटिएको छ । घोराही सिमेन्टको प्रिमियम मूूल्यमा जारी गरिरहेको आईपीओमा जोखिम देखेर पनि बढी शुल्क लिएर अण्डरराईटिङ गरेको सीआईटी स्रोतले बताएको छ । अण्डरराईटिङ सम्झौता गर्दा कम्पनी बलियो अवस्थामा रहेका वित्तीय विवरण थिए । सम्झौता पछि भने कम्पनी खस्किएको उनले बताए । स्रोतका अनुसार धितोपत्र बोर्डले प्रिमियम मूल्य घटाएर आईपीओ जारी गर्न दिनु पर्ने थियो । तर, बोर्डले मूल्य नघटाएर नै आईपीओ जारी गर्न दिएको उनको भनाइ छ । ‘सीआईटी र कम्पनीबीच अण्डरराइटिङ सम्झौतामा यदि सेबोनल मूल्य परिवर्तन गरेको खण्डमा सोही अनुसार शुल्कमा पनि तलमाथि गर्न पाउने शर्त उल्लेख छ, त्यतिबेला मलाई पनि शंका लागेको थियो, यो मूल्य बढी थियो, सेबोनले घटाउँछ की भन्ने आशा थियो तर, घटाएन,’ सीआईटी स्रोतले भन्यो । ३३५ रुपैयाँ प्रिमियम जोडर ४३५ रुपैयाँमा जारी गर्न सेबोनले अनुमति दिएकोमा उनले शंका ब्यक्त गरे । सेयर निष्काशन गर्नु अघिसम्म पनि सेबोनले चाहेको भए मूल्य घटाउन सक्ने उनको भनाइ छ । कम्पनी र सीआईटीबीच बार्गेनिङ भएर नै अण्डरराईटिङ शुल्क निर्धारण गरेका हुन् । ‘जुनसुकै अण्डरराइटरले शुल्कमा बार्गेनिङ गर्छन्, जोखिम बढी भयो भने अण्डरराईटरले बढी शुल्क लिन खोज्छन् । कम जोखिम छ भने सस्तो मूल्यमा पनि अण्डरराईटिङ गर्छन्,’ उनले भने, ‘निफ्राको जोखिम कम भएको हुँदा सीआईटीले सस्तो मूल्यमा अण्डरराईटिङ गरेको थियो तर, घोराहीमा जोखिम बडी देखेपछि सीआईटीले बढी शुल्क लिएको हो ।’ स्रोतका अनुसार घोराही सिमेन्टको अण्डरराईटिङ गरेवापत सीआईटीले ७२ लाख रुपैयाँ शुल्क लिएको छ । अण्डरराइटिङको शुल्क धितोपत्र बोर्डले निर्धारण गरे अनुसार नै लिएको उनको दाबी छ । ‘प्रिमियम मूल्य तोक्ने अधिकार सबोन र कम्पनीको हो, बिक्री प्रबन्धक र अण्डरराईटरलाई मूल्य तोक्ने अधिकार र आधिकारिकता छैन, सेबोन र कम्पनीको संलग्नतामै ४३५ रुपैयाँ मूल्य तोकिएको हो,’ उनले भने, ‘मूल्य तोकिसकेपछि मात्रै हामीले सम्झौता गरेका हाैं, सीआईटीले पनि जोखिमको विश्लेषण गरेको हो, धेरै जोखिम देखेपछि महँगोमा अण्डरराइटिङ गरेको हो ।’ सीआईटीले घोराही सिमेन्टको आईपीओमा कमजोरी गरेको उनले स्वीकार गरे । कम्पनीको आईपीओमा ओभर सब्सक्राइब भएको भन्दा सीआईटी खुसी भएपनि फर्जी आवेदनले समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘मलाई पहिला नै १०/२० प्रतिशत सेयर सर्वसाधारणले खरिद नगर्ने हुन् की भन्ने चिन्ता थियो, केही सेयर सीआईटीले खरिद गर्नु पर्छ जस्तो लागेको थियो तर, पूर्ण आवेदन परेको भन्दा खुसी लागेको थियो, पछि फर्जी आवेदन परेको कुरा बाहिर आएपछि झन् समस्या आयो,’ उनले भने । आर्थिक मन्दीका कारण घोराहीको वित्तीय विवरण खस्किएको उनले बताए । पछिल्लो वित्तीय विवरण अनुसार ईपीएस पनि ऋणात्मक छ । क्रेडिट रेटिङमा त्रीबल बी माइनस प्रदान गरेको छ । यो भनेको कम्पनी मध्यमस्तर रहेको मानिन्छ । ‘कम्पनी समस्याग्रस्त भएको त होइन कमजोर भएको मात्रै हो, यस्ता कम्पनी बजारमा थुप्रै छन्, यो कम्पनी खानी खोला हाईड्रोभन्दा पनि कमजोर भइसकेको छ, कम्पनीको प्रिमियम मूल्य पनि धेरै भएको हो, कम्पनीले सबोनसँग मिलेमतो गरेर साम्य पारेको हुन सक्छ,’ उनले आशंका व्यक्त गर्दै भने , ‘कम्पनी धेरै राम्रो पनि होइन र धेरै गए गुज्रेको पनि होइन, प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न रेटिङ सहि नै हो तर, त्यो रेटिङ दिनुको कारण मिलेमतो छ की !’ प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न मध्यम स्तरको क्रेडिट रेटिङ आउनु पर्छ । यदि कम्पनीले अन्य ठाउँमा रेटिङ गर्दा मध्यम स्तरको नआउने र न्यून स्तरको आउने देखिएको हुँदा नै आफ्नै कम्पनीमा रेटिङ गराएको हुन सक्ने उनले शंका ब्यक्त गरे ।

हिमालयन बैंकका ६ जना संस्थापकले एकैचोटि पौने २२ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । विभिन्न संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, राम प्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता, निता गुरुङको ९ हजार ३५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३४८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ ।

सञ्चालकको भत्ता वृद्धि गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत जेठ ३२ गते बसेको चौंथो वार्षिक साधारणसभा असार २९ गते बसेको काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापकमध्येबाट ५ जना, सर्वसाधारणबाट १ जना र स्वतन्त्रबाट १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीका सञ्चालकहरुको कार्यकाल ४ वर्ष रहने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।