दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बिच असार १० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र बजार विभाग प्रमुख गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्धकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिने कम्पनीले जनाएको छ ।
‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरबिबि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । हालै जारी भई बाँडफाँड भएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई अर्थात ८४ करोड ६१ लाख १९ हजा २९० रुपैयाँ बराबरको उक्त फण्ड असार ११ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड असार १२ गते मंगलबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोले असार १९ गतेदेखि आईपीओ बिक्री गर्दै
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले असार १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका ५, ६, ७ र ८, बिगु गाउँपालिका ४ र कालिञ्चोक गाउँपालिका ३ का स्थानीयलाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम आयोजना प्रभावित क्षेका स्थानीयले १ लाख कित्ता र वैदेशीक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन १७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, गौरीशंकर गाउँपालिकाको कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।