नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त र युनाइटेड इन्स्योरेन्स गरी ४ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो यस्तै, युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस वापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१.२० करोड इकाई किन्न पाइने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ आजदेखि बिक्री खुला

काठमाडौं । सिद्धार्थ क्यापिटलले आज चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । क्यापिटलका अनुसार फण्डको अवधि १० वर्षे बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई रहेको जनाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई छुटइएको छ । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्ड छिटोमा चैत २९ गतेसम्म खरिद गर्न सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

प्रभुले सेञ्चुरी क्यापिटललाई गाभ्ने, आईपीओ पनि बिक्री गर्ने

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने भएको हो । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गर्ने छ । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । प्रभु क्यापिटल र सेञ्चुरी क्यापिटलको सञ्चालक समितीको चैत २४ गते बसेको बैठकले बैशाख ९ गते साधारण सभा बोलाएका हुन् । विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।