गुहेश्वरी मर्चेन्टको बुक क्लोज माघ २० गते

काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरधनीले मात्र लाभांश पाउनेछन् । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.४ प्रतिशत लाभांश ‍प्रस्ताव गरेको छ । बैंकको साधारण सभा माघ २७ गते हुँदैछ ।

आजदेखि कालिञ्चोक दर्शनको आइपीओ खुला

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन आइपीओ को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ ।

बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

काठमाडाैं । बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे । समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस सेयर वितरण वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बोनस सेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० कराेड ९० लाख ६४ हजार ६०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भइरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । यस्तै, लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिरहेकाे छ । साथै, कम्पनीकले ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी गरिरहेकाे जनाएकाे छ ।