शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्मित दिन

काठमाडौं । शुभम पावरलेवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । उक्त सेयरमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज पुस २० सम्म आवेदन दिने सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

नेप्सेमा साढे ३ अर्बको कारोबार, ४ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार सामान्य अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार ३.०३ अंकले सेयर बजार घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार मंगलबार बजार घटे पनि कारोबार रकम सोमबारको भन्दा बढ्नुको साथै ४ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था, खपत्तड लघुवित्त वित्तिय संस्था र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । भोली (पुस २० गते, बुधबार) बुक क्लोज रहेको यस कम्पनीको ४३ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद गरी कूल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणको स्वीकृति भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।