कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद, प्रतिदिन एक करोड आम्दानी गर्ने
कर्णाली । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको प्रमाणपत्र हस्तान्तरण गरे । शेयर प्रमाणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले जलविद्युत्को प्रचुर धनी कर्णालीको डोल्पामा निर्माण हुने उक्त आयोजनाले यहाँको समृद्धि र विकासमा ठूलो सहयोग पुग्ने बताए । ‘गत साउनमै प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘शेयर खरिदले आयोजना निर्माणमा प्रदेश सरकारको अपनत्व बढेको छ ।’ प्रदेश सरकारले प्रतिशेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार रुपैयाँ शेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई उपलब्ध गराइसकेको मुख्यमन्त्री शाहीले जनाए । प्रदेश सरकारले करिब ३६ करोड रुपैयाँ रकम खर्चनु परेको भन्दै त्यसबाट आउने राजस्वले कर्णालीको जनताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, ‘आयोजनाले प्रतिदिन एक करोड आम्दानी गर्ने देखिन्छ भने त्यसबाट प्रतिदिन हामीले पाँच प्रतिशतका दर पाँच लाख मासिक रुपमा एक करोड ५० लाख रुपैयाँ कमाउँछौँ ।’ शेयरमा भएको लगानी प्रदेश सरकारको आम्दानीको दीर्घकालीन स्रोत हुने उनको भनाइ छ । आयोजना प्रमुख सापकोटाले कर्णाली प्रदेश सरकारले खरिद गरेको शेयरले सरकार र आयोजना दुवैलाई प्रतिफल मिल्ने बताए । आयोजनाको विद्युत्गृह मुड्केचुला गाउँपालिका(४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका–१ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ । काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनामा अनुमानित १९ अर्ब ९० करोड रुपैयाँ लगानी हुनेछ भने भने आयोजनाले एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
नेप्सेमा ३ लघुवित्त सहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी ६ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । आरएसडिसी लघुवित्तले आज अर्थात पुुस १५ गते र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६४१.०९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ७६२.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १ हजार ९०४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ३८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५२५.८३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६७.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३३५.१३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ३८५.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यूनाइटेड इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३८२.८६ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
सूचीकृत २५१ कम्पनीमा लाभांश घोषणा गर्ने ८० मात्रै, दुई तिहाईले अझै गरेनन्
काठमाडौं । पूँजी बजारमा पुस मसान्तसम्मको समय लगानीकर्ताहरुका लागि विशेष हुन्छ । कम्पनीहरुले पुस मसान्तसम्म आफ्नो वार्षिक साधारण सभा बोलाउनु पर्ने हुन्छ । वार्षिक साधारण सभामा गत वर्ष कम्पनीले कमाएको नाफा पनि वितरण गरिने भएकाले यो समय लगानीकर्ताका लागि विशेष हुन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा म्युचुअल फण्ड बाहेक २५१ कम्पनी सूचीकृत छन् । जसमध्ये ३७ कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमा हालसम्म ८० वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । ३१.८७ प्रतिशत कम्पनीले मात्रै हालसम्म लाभांश वितरण गर्ने निर्णय गरेका छन् । हालसम्म एक तिहाइ कम्पनीले पनि गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिन सकेका छैनन् । नेप्सेमा १३ वटा समूह छन् । १३ वटा समूहहरुमा म्युचुअल फण्डको भने यहाँ समावेश गरिएको छैन । हालसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, हाइड्रोपावर, इन्भेष्टमेन्ट, होटल, अन्य समूह, निर्जीवन बीमा समूह र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स समूहका कम्पनीहरुले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । जीवन बीमा समूह र ब्यापार समूहका कम्पनीहरुले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ । वाणिज्य बैंक २१ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । हालसम्म नबिल बैंक, हिमालयन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, एनएमबि बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस्तै, गत वर्षको नाफाबाट बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक, सिभिल बैंक र नेपाल एसबिआई बैंकले पनि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । विभिन्न ४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् भने कृषि विकास बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिनेमा नबिल बैंक रहेको छ । यस बैंकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत, तेस्रोमा एभरेष्ट बैंकले २०.६८ प्रतिशत, चौंथोमा हिमालयन बैंकले १९.११ प्रतिशत र पाँचौंमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । विकास बैंक नेप्सेमा १६ वटा विकास बैंक सूचीकृत भएपनि ६ वटाले मात्रै सेयरधनीलाई लाभांश दिने भएका हुन् । जसमा सबैभन्दा धेरै गरिमा विकास बैंकले १४.५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत, लुम्बिनी विकास बैंकले १२ प्रतिशत र महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अझै ६ वटा विकास बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ । फाइनान्स कम्पनी नेप्सेमा २० वटा फाइनान्स कम्पनी सूचीकृत छन् । तर, हाल १५ वटा कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ भने ५ कम्पनीको कारोबार रोक्का रहेको छ । कारोबार भइरहेका १५ वटा फाइनान्स कम्पनीहरुमध्ये ५ वटा कम्पनीले मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा सबैभन्दा धेरै आईसीएफसी फाइनान्सले १० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले ७.६ प्रतिशत, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले ६.८४ प्रतिशत, सेन्ट्रल फाइनान्सले ५ प्रतिशत र पोखरा फाइनान्सले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मञ्जुश्री फाइनान्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । लघुवित्त वित्तीय संस्था हालसम्म १३ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । नेप्से सूचीकृत ६० वटा लघुवित्त छन् । जसमा २ वटा लघुवित्तको कारोबार भने रोक्का रहेको छ । सेयर कारोबार भयरहेका कम्पनीहरुमध्ये १३ कम्पनीले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । हालसम्म जाल्पा सामुदायिक लघुवित्त, आएसडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, गुराँस लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हाइड्रोपावर कम्पनी नेप्सेमा ६२ वटा जलविद्युत कम्पनी सूचीकृत रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १५ वटा हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश रिडी पावर कम्पनीले ४२.१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, दोस्रोमा कालिका पावरले १५.७८ प्रतिशत, तेस्रोमा चिलिमे हाइड्रोपावरले १५ प्रतिशत, चौंथोमा बुटवल पावर कम्पनी र पाँचौंमा माउन्टेन इनर्जीले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमा सबैभन्दा कम राधी विद्युत र मन्दाकिनी हाइड्रोले ५÷५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अपर हेवीखोला हाइड्रोपावर, सामलिङ पावर कम्पनी, यूनीयन हाइड्रोपावर, सयपत्रि हाइड्रोपावर, हिमालयन पावर कम्पनी, मैलुङ खोला जलविद्युत, हिमालय उर्जा विकास, स्वेतगंगा हाइड्रोपावर, सीनर्जी हाइड्रो, इस्टर्न हाइड्रोपावर, माउन्टेन हाइड्रो कम्पनीले भने गत वर्षको लाभांश वितरण नगर्ने भएका हुन् । यी कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएका छन् । निर्जीवन बीमा कम्पनी नेप्सेमा १७ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये ४ वटा कम्पनीको कारोबार रोक्का रहेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १० वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । गत वर्षको नाफाबाट सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । दोस्रोमा नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत, तेस्रोमा प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, चौंथोमा सगरमाथा इन्स्योरेन्सले १३.१५ प्रतिशत र पाँचौंमा एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । अजोड इन्स्योरेन्सले भने गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । इन्भेष्टमेन्ट कम्पनी नेप्सेमा ६ वटा इन्भेष्टमेन्ट कम्पनी सूचीकृत छन् । जसमध्ये ३ वटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५.२६३ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ५.२५ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस समूहमा सूचीकृत इमर्जीङ नेपालले पनि गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । होटल कम्पनी ५ वटा कम्पनी नेप्सेमा सूचीकृत भएपनि हालसम्म एउटा कम्पनीले मात्रै सेयरधनीलाई लाभांश दिने भएको छ । सोल्टी होटलले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । चन्द्रागिरी हिल्सले पनि लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको छ । अन्य समूहका कम्पनी नेप्सेमा अन्य समूहमा २ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स नेप्सेको यस समूहका १९ वटा कम्पनी सूचीकृत छन् । जसमा ६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ । अन्य कम्पनीको कारोबार रोक्का छ । कारोबार भइरहेका कम्पनी सबै कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । शिवम् सिमेन्टले १०.५३ प्रतिशत, हिमालयन डिस्टीलरीले ७० प्रतिशत, यूनिलिभर नेपालले १२१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत, बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत र नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।