रिडी पावरले राख्यो रेकर्ड, एकीकृत कारोबार भएकै दिन नेप्सेमा थपियो सेयर
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिडी पावर कम्पनीको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सूचीकृत भएको छ । साविकको रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई एकीकृत कारोबार गरेकै दिन कम्पनीको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । एक आपसमा मर्जरमा गएका रिडी र रैराङ्ग हाइड्रोपावरले साउन २९ गते नै एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुईले रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् । उक्त एकीकृत कारोबार गरेकै दिन नेप्सेमा सेयर सूचीकृत भएको छ । एकीकृत कारोबार गरेकै दिन सेयर सूचीकृत गर्नेमा रिडी पावर कम्पनी सम्भवतः पहिलो हो । यससँगै भोलि (साउन ३० गते) देखिनै उक्त सेयर किनबेच गर्न पाइने छ । जसको लागि पहिलो कारोबार गर्न नेप्सेले प्रतिकित्ता ७०८.६० रुपैयाँ तोकिदिएको छ । यससँगै लगानीकर्ताले स्टक सिम्बोल आरआईडीआईको नामबाट सेयर किनबेच गर्न सक्ने छन् । साविकको रिडी हाइड्रोपावर र रैराङ हाइड्रो १ बराबर ०.९३ को अनुपातमा मर्जरमा गएका हुन् ।
दुई हजार नजिक पुग्यो नेप्से परिसूचक, एचडीएलपछि नेपाल लाइफको सर्वाधिक कारोबार
काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजार बिन्दु नजिक पुगेको छ । पछिल्लो केही दिनदेखि निरन्तर घटिरहेको परिसूचक आइतबार पनि घटेर २०१०.०१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा २७.९२ बिन्दु अर्थात १.३७ प्रतिशतले घटी हो । दिनभर निरन्तर रुपमा घटेको बजारमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२७ कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सर्वाधिक कारोबार हुनेमा हिमालयन डिष्टिलरी रहेको छ भने दोश्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन डिष्टिलरी (एचडीएल) को १६ करोड ५३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुबैको प्रतिकित्ता सेयर मूल्य घटेर क्रमशः ३५२६ र ६७१.९० रुपैयाँमा झरेको छ । त्यसैगरी, घटेको बजारमा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता १५४.८० रुपैयाँ पुगेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर प्रतिकित्ता १०७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २३३.६८ अंकले घटेको छ ।
रिडी र रैराङ हाइड्रोले गरे एकीकृत कारोबार, अब ठूला आयोजनाहरु बनाउन सक्ने
काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई साउन २९ गते (आइतबार) देखि एकीकृत कारोबार शुरु गरेका छन् । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । १ः०.९३ को स्वाप रेसियोमा मर्ज भएका रिडी र रैराङले रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुइ कम्पनी मर्ज पश्चात बनेको कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस्तै, मर्जर पश्चात् कम्पनीको सीईओमा कुबेर मणी नेपाल र अध्यक्षमा गुरुप्रसाद न्यौपाने रहनेछन् । एकीकृत कारोबार भएपछि कम्पनीको आयोजना संख्या ४ वटा र कर्मचारी संख्या ४० जना पुगेका छन् । एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाईमा पुर्याउने बताए । उनले जलविद्युतको विकास गरी उचाईमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए । विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताउँदै अध्यक्ष सिंहले नियमन आयोगले विद्युत निर्माणमा सहुलियत दिन सहयोग गर्ने बताए । त्यस्तै, अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताए । साथै, दुई वटा विद्युत कम्पनी मिलेर ठूला आयोजनाहरु बनाउन सक्ने समेत उनको भनाइ छ ।