मर्जर सम्झौता गरेको ६ महिनाभित्रै एकिकृत कारोबार गर्नै पर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ । बोर्डले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको हो । ‘संगठित सस्थाको गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।
नेप्से परिसूचक १९.०६ अंकले गिरावट
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ । बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । नेप्से ओरालो लागेपनि बिहीबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता युनिलिभर नेपालको सेयरमूल्य ८.२३ प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि सेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को बिहीबार ७ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।
भेञ्चर क्यापिटल लगायत विभिन्न कोषको व्यवस्थापन गर्न ग्लोबल इक्विटी फण्डले पायो अनुमति
काठमाडौं । ग्लोबल इक्विटी फण्डले विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम उक्त फण्डलाई कोष व्यवस्थापकको अनुमति दिएको हो । सो व्यवस्था बमोजिम ग्लोबल इक्विटी फण्डको योग्यता पुगेकोले बोर्डले यसलाई अनुमति दिएको हो । उक्त फण्डलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले कम्पनीका सम्वद्धपक्षलाई व्यवसायिक र सुशासित रुपमा काम शुरु गर्न निर्देशन दिएका छन् । यससँगै विभिन्न कोषको व्यवस्थापकको अनुमति पाउने यो पहिलो फण्ड हो । अनुमति पाएसँगै यसलाई भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्ड विभिन्न कोषको व्यवस्थापन गर्नको लागि बाटो खुलेको छ । त्यस्तै, सोको अनुमति माग्दै हाल १६ वटा फण्डहरु पाइपलाइनमा छन्, जसको अध्ययन भइरहेको बोर्डका प्रवक्ता रुपेश केशीले बताए । बोर्डबाट अनुमति पाएसँगै फण्डलाई विशिष्टीकृत कोष व्यवस्थापकको कार्य संचालन गर्ने बाटो खुलेको छ । बोर्डले नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न उक्त अनुमति दिएको हो । यसबाट नयाँ व्यवसायहरु शुरुवात गर्न, स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ ।यसबाट बजारको थप विकास तथा विस्तार हुने बोर्डको अपेक्षा छ।