शुक्रबार सेयर कारोबार बन्द
काठमाडौं । भोलि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ । भदौ ३ गते कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको हो । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।
नेप्सेमा हरियाली छाउँदा ४ कम्पनीमा लाग्यो सर्किट, हाइड्रोमा झुम्मिए लगानीकर्ता
काठमाडौं । पछिल्लो तीन दिन लगातार राताम्मे देखिएको बजारमा बिहीबार हरियाली छाएको छ । नेप्से परिसूचक र कारोबार रकम दुबै बढेकोले सेयर बजार हरियाली देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक २७.५६ अंकले बढेर २०६८.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढी हो । त्यस्तै, सेयर कारोबार रकम पनि ६५ करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको कारोबार बिहीबार २ अर्ब ५ करोड रुपैयाँ बढीको किनबेच भएको छ । दिनभरको बजारमा २२० वटा स्क्रिप्सको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये रिडी पावरको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । बजारमा कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने १२ रुपैयाँले घटेर प्रतिकित्ता ६३२ रुपैयाँमा झरेको छ । त्यसपछि बढी कारोबार गर्नेको दोश्रोमा अपि पावर कम्पनी छ । जसको ७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजार बढेसँगै चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः २८७.१० र ३९२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२५.४० रुपैयाँ र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २२६.४० रुपैयाँ पुगेको छ । बजारमा प्रतिशतको आधारमा बढी घट्नेमा एनआइबीएल प्रगति फण्ड रहेको छ । जसको इकाई मूल्य ३.८० प्रतिशतले घटेर प्रतिइकाई ९.१२ रुपैयाँमा झरेको छ । बिहीबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये विकास बैंक समूह भने सबैभन्दा बढी ११७ अंकले बढेको छ ।
हिमालयन डिस्टिलरीमा एक लाख लगानी गर्नेले कमाए डेढ करोड, यस्तो छ लाभांश इतिहास
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्ने कम्पनीहरुमा हिमालयन डिस्टिलरी पनि पर्दछ । कम्पनीले सेयरधनीहरुलाई आकर्षक प्रतिफल वितरण गर्दै आएपछि लगानीकर्ताको रोजाइमा पर्न थालेको हो । हिमालयन डिस्टीलरी कम्पनी सन् २००७ जुलाइ २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको संस्थापक सेयर स्वामित्व ५८ प्रतिशत अर्थात् ८८ लाख ७ हजार १७९ कित्ता सेयर र पब्लिक सेयर स्वामित्व ४२ प्रतिशत अर्थात् ६३ लाख ७७ हजार ६१२ कित्ता सेयर गरी कूल १ करोड ५१ लाख ८४ हजार ७९१ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । बुधबार नेप्सेमा कम्पनीको ३ हजार ५४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस आधारमा कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ७५ करोड ४१ लाख ६० हजार १४० रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ मा २० प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा ६८.४२ प्रतिशत र २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले निरन्तर नगद लाभांश वितरण गर्दै आएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद गरी कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस कम्पनीमा २०७० सालमा एक सय रुपैयाँमा एक हजार कित्ता सेयर खरिद गरेर एक लाख लगानी गर्ने सेयरधीले ९ वर्षको अवधिमा साढे एक करोड रुपैयाँ प्रतिफल पाएको देखिन्छ । २०७० मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा थियो । सो अवधिमा एक सय रुपैयाँमा एक हजार कित्ता खरिद गरेको लगानीकर्ताले त्यसको एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद लाभांश पाएको देखिन्छ । यस हिसाबले सो सेयरधनीले कुल साढे १० हजार रुपैयाँ नगद लाभांश पाएको देखिन्छ । यसरी आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा सो सेयरधनीले १ हजार सेयर खरिदबाट कुल १ लाख २ लाख ८८ हजार ६५० रुपैयाँ नगद लाभांशबाट पाएको देखिन्छ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट बोनस सेयर पाएको देखिन्छ । कम्पनीले तीन आर्थिक वर्षमा कुल १७५ प्रतिशत बोनस सेयर वितरण गर्दा सो सेयरधनीको कुल ३ हजार ९ सय सय ३७ कित्ता सेयर पुगेको देखिन्छ । यस हिसाबले सेयरधनीले नौ वर्ष अगाडि एक सय रुपैयाँमा एक हजार सेयर खरिद गर्दा कुल १ करोड ३९ लाख ३८ हजार ७५० रुपैयाँ प्रतिफल पाएको तथ्यांकले देखाउँछ । सेयरधनीले बोनस र नगद लाभांशबाट भने कुल १ करोड ४२ लाख २७ हजार ४ सय रुपैयाँ प्रतिफल पाएको देखिन्छ ।