रारा हाईड्रोपावरले १२ करोडको आईपीओ निष्काशन गर्ने
काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । रारा हाईड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा रारा हाईड्रोपावरका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे । सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिने योजना रहेको छ ।
एक वर्षयताकै न्यून बिन्दुमा नेप्से परिसूचक, सबै समूह राताम्मे
काठमाडौं । नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । बुधबारको परिसूचक ३१।७६ अंकले घटेर २२७५.६८ बिन्दुमा झरेको हो । परिसूचक ०७८ मंसिरको न्यूनतम बिन्दुबाट घटेको हो । यसअघि २०७८ मंसिर २७ गतेको परिसूचक न्यूनतम बिन्दु २२८१.६७ मा थियो । जुनलाई २०७९ बैशाख २१ गतेको परिसूचकले रेकर्ड ब्रेक गरेको छ । भदौ २ गते बजारमा भने परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिनको परिसूचक ३१९९.०३ बिन्दुमा थियो । बुधबारको बजारमा एक अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन अरुण भ्याली हाइड्रोको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । घटेको बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जुन ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३८२.४० रुपैयाँ पुगेको छ । बजारमा ग्रीन भेन्चर्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.३६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २८६.८२ बिन्दुमा झरेको छ ।
वैशाख २८ गतेदेखि रिभर फल्सको आइपिओ आउँदै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ । कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले यही वैशाख २८ गतेदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मे.वा लागत १८ करोड ६ लाख १५ हजार रहने जनाइएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसअघि कम्पनीले आयोजनाबाट असर पर्नसक्ने सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयर निष्काशन र बाँडफाँटसमेत गरिसकेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।