विन नेपाल लघुवित्तको लाभांश संशोधित
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । बैशाख २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो । संशोधित लाभांशसँगै संस्थाले सेयरधनीलाई ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । अब संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । संस्थाको आगामी वार्षिक साधारण सभा (सातौं) जेठ २० गते शुक्रबार दिनको ११ बजे सिन्धुपाल्चोकको इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै जेठ २ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन नेपाल लघुवित्त वित्तीय संस्था बनेका हुन् । यससँगै विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख रुपैयाँ पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ को संचित नाफाबाट चुक्ता पुँजीको ९.३३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश पारित पछि संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ नाघ्ने छ ।
लगातार चारदिन बढेको नेप्से १९ अंकले घट्यो
काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज १८.६४ अंकले घटेको छ । आइतबार १७.९५ अंक, सोमबार नेप्से परिसूचक १२.२७ अंक, मंगलबार ४४.१६ अंक र बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको थियो । सेयर मूल्य घटे पनि कारोबार मूल्य भने बढेको छ। बुधबारको तुलनामा आज करिब १६ लाख बढीको कारोबार भएको छ । बिहीबार कारोबारमा आएका २२८ कम्पनीको ४० लाख कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब १६ करोड रुपैयाँ बराबर भएको थियो । नेप्सेका १३ वटा उपसूचकमध्ये ११ वटा राताम्मे भएका छन् । बिहीबार कारोबार रकमका आधारमा ११ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । आज जाल्पा लघुवित्तको सेयर मूल्यमा सर्किट लाग्दा तेह्रथुम हाइड्रोको ६.२० प्रतिशतले बढ्यो । त्यस्तै धेरै गुमाउनेमा सूर्योदय वोमी लघुवित्तको नकारात्मक सर्किट लागेको छ ।
बुधबार १३ कम्पनीको सकारात्मक सर्किट लाग्दा दुई अर्बभन्दा बढीको कारोबार
काठमाडौं । आइतबारदेखि लागतार बढेको नेप्सेले आज पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको हो । सेयर मूल्यसँगै कारोबार मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा आज करिब ८१ लाख बढीको कारोबार भएको छ । आइतबारदेखि बढेको नेप्से परिसूचक आज मंगलबार ४४.१६ अंकले बढेको थियो भने आज ५६ अंकले बढेसँगै २३६९.०६ को विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख कित्ता सेयर दुई अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड रुपैयाँ बराबर भएको थियो । नेप्सेका १३ वटा उपसूचक सबैमा हरियाली छाएको छ । बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबार कारोबार रकमका आधारमा १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर अरुणभ्याल्ली हाइड्रो पावर शीर्षस्थानमा रह्यो ।