खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बुधबार (फागुन ११ गते) देखि साधारण सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँअङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपीओ०को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख रुपैयाँ छ । आईपीओ पश्चात २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।
नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको सीईओ कार्कीको बुझाई, सरकारको गुलाम नबन्न लगानीकर्ताको सुझाव
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले यही अवस्था रही रहे नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको बताएका छन् । मंगलबार सेयर लगानीकर्ता तथा मर्चेट बैंकर्ससँग धितोपत्र बजार व्यवस्थापन सम्बन्धि सुझाव संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै सीईओ कार्कीले नेप्सेको यही अवस्था रही रहे अर्को स्टक एक्सचेञ्जको आवश्यकता रहेको धारणा राखेका हुन् । कार्कीले छिमेकी राष्ट्रका स्टक एक्सचेञ्हरु प्रविधि, जनशक्तिको दक्षता तथा पूँजीका हिसावमा पनि धेरै अगाडि बढिसकेको प्रशंग उल्लेख गर्दै नेपाल स्टक एक्सचेञ्ज अहिलेको गतिमा नै अगाडि बढे अर्को रणनीतिक साझेदारको आवश्यकता नभई नहुने तर्क राखे । ‘छिमेकी देशका स्टक एक्सचेञ्जहरु धेरै अगाडि बढिसके, हाम्रो स्टक एक्सचेञ्ज ४० कर्मचारीको भरमा चलिरहेको छ, नयाँ प्रविधि भित्र्याउन सकेको छैन, खरिद बिक्रीको ढिलाई उस्तै छ, यस्ता विभिन्न ‘हडल्स’हरुले नै अर्को नेप्सेको विषय उठेको हो जस्तो मलाई लाग्छ, संस्थागतभन्दा पनि व्यक्तिगत रुपमा मलाई पनि यस्तै हो भने अर्को नेप्सेको आवश्यकता छ जस्तो लाग्छ,’ उनले सेयर लगानीकर्ताहरुसँग भने । उनले अहिले सामान्य काम गर्न खोज्दा धेरै प्रक्रिया पुर्याउनु पर्ने झन्झटले पनि समस्या भइरहेको आफुले महसुस गरेको सुनाए । उनले नेप्सेले गर्ने ८० प्रतिशत काम प्रविधिगत रुपमा हुने भएकोले पनि केही सामान खरिद गर्नु पर्यो भने पनि टेन्डरमा जानुपर्ने अवस्थाले झन बढी समस्या सिर्जना गराएको बताए । ‘हामी केही नयाँ काम गरौं, नयाँ प्रडक्टहरु ल्याऔं भन्ने विषयमा छलफलमा छौं, सूचना प्रविधिमा पनि केही नयाँ काम गर्न खोजिरहेका छौं, यसको विकास र विस्तारका लागि केही न केही काम पक्कै हुन्छ,’ सीईओ कार्कीले भने । कार्कीसँग लगानीकर्ताले मागे भिजन नेप्सेले सेयर लगानीकर्ता तथा मर्चेन्ट बैंकर्ससँग राखेको अन्तक्र्रिया कार्यक्रममा सेयर लगानीकर्ताहरुले सीईओ कार्कीसँग भिजन माग गरेका छन् । लगानीकर्ताहरुले भिजन लिएर आए मात्रै क्रमशः काम गर्न सजिलो हुने भएकोले कार्कीलाई भिजन बनाएर अगाडि बढ्न सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूँजी बजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले कार्कीलाई भिजन बनाउनेदेखि नेप्सेको सेयर स्वामित्व संरचना परिवतर्न गर्नसम्मको सुझाव दिए । उनले कार्कीलाई विशेषतः नेप्से इन्डेक्स क्याल्कुलेसन विधि परिवर्तन गर्नु पर्ने, नेप्सेको पूँजी वृद्धि र सेयर स्वामित्व संरचना परिवर्तन गर्न आवश्यक भएको धारणा राखे । ‘दिनप्रतिदिन बजारको आकार बढ्दै गएको छ, ४/५ वर्ष अगाडि १ हजार जना मात्रै दैनिक कारोबार गर्थे तर, अहिले लाखौंको संख्या पुगेको छ, याे अवस्थामा पनि पूरानै प्रविधिलाई आत्मसाथ गरेर काम गर्नु पर्ने अवस्था छ, छिटोभन्दा छिटो नेप्सेले आफुलाई अपग्रेड गर्न आवश्यक छ,’ पौडेलले भने । यस्तै, कार्यक्रममा सहभागी विभिन्न लगानीकर्ता तथा मर्चेन्ट बैंकर्सले हल्लाको भरमा चलिरहेको बजारलाई व्यवस्थित बनाउन नेप्सेले भूमीका खेल्नु पर्ने धारणा राखे । ‘अहिले बजार हल्लाको भरमा चलिरहेको छ, एक जना अमुक व्यक्तिले सेयर बजारको विषयमा बोल्दा बजार घट्ने बढ्ने भइरहेको छ, यस विषयमा सोच्न आवश्यक छ, यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, यस विषयमा नेप्सेले ध्यान देओस्,’ एक लगानीकर्ताले भने । उनले राजनीतिको हस्तक्षेपबाट पनि नेप्सेलाई मुक्त गर्नु पर्ने आवश्यकता रहेको धारणा राखे । यस्तै, ती लगानीकर्ताले सरकारले अनावश्यक रुपमा ल्याउने नीतिले पनि सेयर बजारमा नकरात्मक असर पर्ने भनाई राखे । सेयर स्वामित्व संरचना परिवर्तनकाे माग कार्यक्रममा अधिकांश लगानीकर्ताले नेप्सेको सेयर स्वामित्व संरचना परिवर्तन गर्नु पर्ने माग राखेका छन् । उनीहरुले नेप्सेको ‘अनरसिप स्ट्रक्चर’ परिवर्तन नगर्दासम्म नेप्सेको सुधार हुने नदेखिएको धारणा राखे । नेप्सेमा सरकारको स्वामित्व बढी भएकै कारण सरकारको यसमा हस्तक्षेप भइरहेको उनीहरुको बुझाई छ । उनीहरुले बजारको विकास र नेप्सेलाई प्रतिस्पर्धी बनाउन यसको सेयर स्वामित्व परिवर्तन हुनु पर्ने धारणा राखेका हुन् । हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्य ०.६० प्रतिशत सेयर स्वामित्व छ । सेवोन र नेप्सेको भूमीकामाथि प्रश्न सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र नेप्सेको भूमीकामाथि पनि प्रश्न गरेका छन् । उनीहरुले सेवोन र नेप्सेले आफ्नो दायरा छुट्याएर काम गर्न आवश्यक रहेको धारणा राखे । ‘विदेशमा बुक बिल्डिङको मेकानिज्म तथा सेटलमेन्ट स्टक एक्सचेञ्जले नै गर्दै आएको छ तर, नेपालमा नेप्सेको भूमीका अपरेटरको बाहेक भएन, सेवोनेले नियामककै भूमीकामा बस्न आवश्यक हुन्छ, नेप्सेले गर्नु पर्ने काम पनि सेवोनले गरिरहेको छ, सेवोनले नेप्सेको काममा हस्तक्षेप नगरोस् भन्ने हाम्रो चाहना हो,’ कार्यक्रम सहभागी एक लगानीकर्ताले भने । यस्तै, उनीहरुले बुक बिल्डिङ प्रक्रियालाई बढी प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने सुझाव पनि दिए । लगानीकर्ताले नेप्सेलाई सरकारको गुलामी नबन्न पनि सुझाव दिए । उनीहरुले सेयर लगानीकर्ताहरुले म्याचिङ अर्डरका लागि छुट्टै विन्डोको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
नेप्से परिसूचक १७.४२ अंकले वृद्धि
काठमाडाैं । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ । सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ । मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता शेयर ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ । सोमबार ३ अर्ब बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अंकले गिरावट आएको छ । मंगलवार कारोबारमा आएका २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावरको शेयरमूल्य ८.५२ प्रतिशत बढेको छ । तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब २ प्रतिशत घटेको छ । मंगलबार कारोबार रकमका आधारमा २१ करोडको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।