सेबोन अध्यक्षको पहिलो पत्रकार सम्मेलनः ब्रोकरलाई चेतावनी, साना लगानीकर्तालाई आश्वासन
काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले पहिलो पत्रकार सम्मेलनमा सेयर ब्रोकरलाई चेतावनी र साना लगानीकर्तालाई आश्वासन दिएका छन् । बोर्डको अध्यक्षमा हमाल नियुक्त भएपछि बोर्डले पहिलो पटक पत्रकार सम्मेलन गरेको हो । सो सम्मेलनमा बोल्दै अध्यक्ष हमालले अहिलेको व्यवस्था अनुसार काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिए । ‘सेयर कारोबारमा टी प्लस टुमा सेटलमेन्ट (राफसाफ) भइसक्नु पर्ने व्यवस्था छ, त्यो बेलासम्ममा सेटलमेन्ट गरिसक्नु होस्, समयभित्र सेटलमेन्ट भएन भने तत्काल कारवाही हुन्छ,’ अध्यक्ष हमालले भने । यस्तै, उनले साना लगानीकर्ताको पक्षमा आफूले काम गर्ने पनि बताए । साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै उनले लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि बताए । उनले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिए । धेरै नाफा गरेका कम्पनीहरु अंकित मूल्यमा नआउने र त्यसको लागि बुक विल्डिङ विधि नै सबैभन्दा प्रभावकारी हुने उनको विश्लेषण छ । अध्यक्ष हमालले धेरै नाफा कमाउने वास्तविक क्षेत्रका कम्पनीहरुलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा भित्र्याउने दाबी पनि गरे । बजारमा हुने गरेका भित्री कारोबार लगायतका विकृति रोक्ने भन्दै उनले बजारलाई सहयोग पुग्ने गरी नयाँ नीति नियम र व्यवस्थाहरु आवश्यक भए आफूले सोको लागि पनि पहल गने प्रतिवद्धता जनाए ।
लघुवित्तहरुको सेयर बजारमा पौने १२ करोड लगानी
काठमाडौं । लघुवित्त संस्थाहरुले सेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको सेयर कर्जा घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित भएको हो । गत असारसम्म लघुवित्तहरुको सेयरमा १३ करोड २६ लाख रुपैयाँ लगानी थियो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४१२ करोड रुपैयाँको सीमा तोकेपछि लगानी १०.६७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तहरुले सेयरमा १३ करोड २० लाख रुपैयाँ लगानी गरेका थिए । लघुवित्तहरुको कुल लगानी भने ९ अर्ब ९१ करोड छ । लघुवित्त संस्थाले सरकारी सुरक्षेण पत्रमा ७७ करोड ३ लाख, मुद्धती निक्षेपमा ८ अर्ब २७ करोड ३८ लाख र अन्यमा ७५ करोड १७ लाख लगानी गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको हो । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी गत असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।
सेयर बजारबारे जानकारी दिन मल्पी इन्टरनेशनल कलेजले सुरु गर्यो बुटक्याम्प
काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो । बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा लगानी गर्न जान्न आवश्यक पर्ने सबै आधारभूत कुराहरु सिकाइने कलेजले जानकारी दिएको छ । लगानी साक्षरता बुटक्याम्पको अवधिभरि एनआइबिएल एस क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटिज, एसएमटीएम क्यापिटलका विशेषज्ञका साथै लगानीकर्ता दिलिप कुमार मुन्नाकर्मी पनि हुने बताइएको छ । लगानी साक्षरता बुटक्याम्प सबैका लागि निस्शुल्क रहेको र बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि उपस्थित हुने सबैलाई प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।