पौने २ अर्बले बढ्यो सेयर कारोबार, यूनाईटेड इदी मार्दीमा लाग्यो सर्किट
काठमाडौं । आइतबारको सेयर कारोबार पौने २ अर्ब रुपैयाँले बढेको छ । गत बिहीबारको तुलनामा आइतबारको कारोबार रकम १ अर्ब ८१ करोड रुपैयाँले बढेको हो । गत बिहीबार २ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ४ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २३० वटा स्क्रिप्स कारोबारमा आएकामध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ५८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । संस्थाले बम्पर लाभांश घोषणा गरेसँगै संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश घोषणा गरेको पहिलो दिनको कारोबारमा संस्थाको सेयर मूल्य ३.४९ प्रतिशत अर्थात १७३ रुपैयाँले बढेर प्रतिकित्ता ५ हजार १३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यूनाईटेड इदी मार्दीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७५९ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । परिसूचक ३९.४० अंकले घटेर २६९३.१० बिन्दुमा झरेको छ । बजारमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ४.७४ प्रतिशतले घटेर प्रतिकित्ता ५२१ रुपैयाँमा झरेको छ । त्यस्तै, अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
‘सेयर बजार बढोस् भन्ने चाहना सबैको छ, नियामकलाई नियामक जस्तै बनाउँछु’
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नियामकलाई नियामक जस्तै बनाएर देखाउने बताएका छन् । आइतबार बोर्डको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै उनले यसअघि जे जस्ता घटनाहरु भएपनि अब आफु बोर्डलाई नियामक जस्तै बनाएर देखाउने प्रतिवद्धता गरे । अध्यक्ष हमालले आफु साना लगानीकर्ताको हकहितका लागि काम गर्नकै लागि बोर्डमा आएको बताए । आफ्नो मुख्य प्राथमिकता साना लगानीकर्ता हुने बताउँदै उनीहरुको हकहितका लागि काम गर्ने उनको भनाई छ । यस्तो छ उनको संक्षिप्त धारणाः हामी सबैकोउद्देश्य एउटै छ । हामी सबैले स्वस्थ र पारदर्शी बजारका लागि अगाडि बढ्ने हो । सबै लगानीकर्ताको ‘कन्सर्न’ बजार बढोस् भन्नेछ । बजारमा पारदर्शी र र सबैलाई एकै किसिमको व्यवहार होस् भन्ने सबैको अपेक्षा छ । नियामक निकाय नियामक जस्तै होस् भन्ने अपेक्षा छ । साना लगानीकर्तालाई कसरी बचाउन सकिन्छ । कसरी अगाडि जान्ने भन्ने मेरो उद्देश्य हुनेछ । लगानी जोखिममा पर्न नदिनका लागि पनि काम गर्नु पर्नेछ ।
जीवन विकास लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गरेको घोषणा गरेको हो । फागुन ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७० प्रतिशत बोनस र ३.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ । ७० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।