प्रिमियर इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । तर, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । १ अर्ब ७ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी बोनस सेयरपछि १ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ भने ३४ करोड ७९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको सभा कम्पनीको केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स मार्फत भएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् ।

नेप्सेका नवनियुक्त सीईओले सोमबारदेखि कार्यभार सम्हाल्ने, भन्छन्ः तीन कार्ययोजना बनाएर अघि बढ्छु

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएको करिब एक सातापछि कार्कीले आफ्नो पदभार सम्हाल्ने तयारी गरिरहेका हुन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई ६ महिना अघिदेखि नेतृत्वविहीन भएको नेप्सेमा प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कार्कीले माघ २४ गतेदेखि चार वर्षसम्म नेप्सेको नेतृत्व सम्हाल्ने भएका छन् । ४ वर्षको लागि नियुक्त भएका नवनियुक्त सीईओ कार्कीले हाल आवद्ध रहेको संस्थाको राजिनामा स्वीकृत भएपछि नेप्सेमा कार्यभार सम्हाल्ने बताएका छन् । ‘अन्य संस्थाको राजिनामा स्वीकृत गराएर नेप्सेमा जाने हो, सायद आइतबार सबै काम सकिन्छ अनि सोमबारदेखि जान्छु होला,’ कार्कीले विकासन्युजसँग भने । अर्थशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् । पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् । ‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने । साथै, कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनी बताउँछन् । ‘पहिला कार्यभार सम्हालौं, त्यसपछि संस्थाका व्यवस्थापकीय टीमहरुसँग बसेर थप अध्ययन अनुसन्धान गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्य छ,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘अब कार्यभार सम्हालेको २/३ हप्ताभित्र आफ्नो योजना सार्वजनिक गर्ने छु ।’ अहिले बाहिरी दृष्टिकोणले हेर्दा नेप्सेमा केही नीतिगत स्वार्थ, केही संरचनागत संस्थाका कुराहरु छन्, कार्यक्षेत्र विकास लगायत ब्रोकरको पूर्वाधार विकासमा केही सुधार गर्नुपर्ने देखिएको उनको भनाई छ । जसलाई सुधार गर्न आफ्नो प्रयास जारी रहने र त्यसमा सबैको साथ सहयोग पाइनेमा उनी विश्वस्त छन् । सम्बन्धित समाचारः नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की, को हुन् उनी ?

पछिल्लो एक सातामा नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि

काठमाडाैं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ । यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ । अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको थियो । साताको दोस्रो कारोबार सोमबारको दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो । मंगलबार नेप्से १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको थियो । मंगलबार कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । साताको बुधबार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदाको दिन नेप्से कारोबार पनि बन्द हुन्छ । त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले सम्पति बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ ।