पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट
काठमाडाैं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो । पछिल्लो ३ साता लगातार रुपमा बढेको नेप्से परिसूचक यो साता भारी अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको थियो भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले घटेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अंकको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको थियो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो । मंगलबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो । तर यता, साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ अंकमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ । गतसाता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ गतेदेखि भर्न पाइने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा माघ २१ गतेदेखि आवेदन दिन पाइने छ । लघुवित्तले सो दिनदेखि आईपीओ बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले सो दिनदेखि आईपीओ भर्न पाउने भएका हुन् । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिने छ । यससँगै इच्छुकले आगामी माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । यदि उक्त अवधिसम्म पनि माग अनुसारको आवेदन नपरेमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन खुला गरिने व्यवस्था छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।
अभियान लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजिनक निष्काशन (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले आईपीओ निष्काशनको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा अभियान लघुवित्त वित्तीय संस्थातर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । हाल संस्थाको अधिकृत पुँजी ३० करोड रुपैयाँ, जारी पुँजी २५ करोड रुपैयाँ, र चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ बाँडफाँड पछि संस्थाको चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनेछ । गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख रुपैयाँ बचत संकलन तथा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह रहेको छ । यसैगरी आर्थिक वर्ष ०७७/०७८ को आषाढ मसान्त सम्ममा १ करोड ७७ लाख रुपैयाँ खुद नाफामा रहेको यस वित्तीय संस्था चालुु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।