बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आइपीओ जारी गर्ने, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० को बिक्री खुला गर्ने लागेको हो । निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल–५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन बिक्री खुला गरिने भएको छ । कम्पनीले सार्वजनिक गरेको अह्वान पत्रानुसार प्रभावित स्थानीयवासीले यही माघ २७ देखि छिटोमा आगामी फागुन १२ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बढायो बोनसदर
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा करिब बराबर हो । तर बोनसदर भने अघिल्लो आवको तुलनामा ३ प्रतिशत बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ३.७८९४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।
नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ताको आकर्षणमा हाइड्रो
काठमाडौं । मंगलबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । बजारमा परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ भने कारोबार रकममा करिब साढे १ अर्ब रुपैयाँको सुधार देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनमा ०.६७ प्रतिशतले बढी हो । त्यस्तै, अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उच्च कारोबार गर्नेको अग्रस्थानमा अधिकांश हाइड्रो कम्पनीहरु रहेका छन् । बढी कोरोबार गर्नेको शीर्ष ५ स्थानमा क्रमशः नेशनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । जसमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको ३९ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४१७.१० रुपैयाँमा भएको छ । त्यस्तै, दुई कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १७८१.१० र ६७८ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी सेयर मूल्य घट्नेको अग्रस्थानमा लघुवित्त कम्पनीहरु रहेका छन् । जसमा नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य ३.१७ प्रतिशत अर्थात ४० रुपैयाँले घटेर प्रतिकित्ता १२२० रुपैयाँमा झरेको छ । मंगलबार चार समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी १०९.९४ अंकले बढेको छ । सरकारले चुनावको मिति घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको जानकारहरु बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते चुनावको घोषणा गरेका हुन् ।