फागुन ४ गतेदेखि आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (२६ करोड)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी २६ करोड तथा चुक्तापूँजी १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

एकाएक निफ्रामा देखियो चमक, एकैदिन चार शीर्षकमा अग्रस्थानमा

काठमाडौं । सोमबारको बजारमा एकाएक नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) मा चमक देखिएको छ । दोश्रो बजारमा लगानीकर्ताहरु एकाएक निफ्राको सेयरमा आकर्षित भएका छन् । लगानीकर्ताहरु आकर्षित भएसँगै एकैदिन ४ शीर्षकमा निफ्रा अग्रस्थानमा देखिएको छ । कारोबार रकम, कारोबार कित्ता, कारोबार संख्या र टप गेनरको शीर्ष स्थानमा निफ्रा रहेको छ । सर्वाधिक कारोबार भएको कम्पनीको एकैदिन ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको १२ लाख २७ हजार २७५ कित्ता सेयर ८ हजार ५१० पटकमा किनबेच भएको हो । जुन अन्य कम्पनीको तुलनामा बढी हो । त्यस्तै, कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले बढी हो । समग्रमा सोमबारको बजारमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । २२४ वटा स्क्रिप्सको कारोबार भएको सोमबारको बजारमा ९५ लाख १२ हजार ५८० कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार रकम घटेपछि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । आइतबार घटेको परिसूचक सोमबार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ । जुन ०.५५ प्रतिशतले बढी हो । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य भने ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६६८ रुपैयाँमा झरेको छ । सेयर मूल्य घटेका कम्पनीमध्ये अन्य कम्पनीको सेयर मूल्य पौने ४ प्रतिशतले भन्दा कमले घटेको छ । बजारमा बैंकिङ, होटल एण्ड टुरिजम र माइक्रोफाइनान्स समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेका छन् ।

जानकी फाइनान्ससँगै दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जानकी फाइनान्सको १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ६७७.१० रुपैयाँलाई आधार मानिएको संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५८८.७८ रुपैयाँ कायम भएको छ । ज्योति लाइफको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३३२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १९४३.३३ रुपैयाँ कायम भएको छ ।