साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा कम्पनीको २० प्रतिशत अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सूचीकृत सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।
३० प्रतिशत हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोज
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी पुस २१ गते बुक क्लोज गर्दै छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस २० गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । २०७७ पुस २९ गते सभाले पारित गरे बमोजिम कम्पनीले हकप्रद जारी गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ छ । ३० प्रतिशत अर्थात १० बराबर ३ को अनुपातमा हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ३८ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले बढायो लाभांश दर, बोनस र नगद कति ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । प्रस्तावित लाभांश कम्पनीले अघिल्लो आवको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।