प्राइम बैंकको सभाले पारित गर्यो लाभांश, सञ्चालकमा श्रेष्ठ निर्विरोध

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सो मात्राको लाभांश पाउने छन् । साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद-१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए । अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै सेयरधनीलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

हिमालयन डिष्टिलरीको १०० प्रतिशत लाभांश घोषणा, सभामा जान तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सो मात्राको लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको २१औं वार्षिक साधारणसभा आगामी पुस २८ गते पसौको लिपनिवितास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १५ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले उक्त लाभांश पाउने छन् ।

दुई वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । वाणिज्य बैंकमध्ये एनएमबि बैंक र नेपाल एसबिआईको मूल्य समोजन भएको हो । जसमध्ये एनएमबिको १२.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३६.३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल एसबिआईको ३.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ३४४.८३ रुपैयाँ कायम भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको क्रमशः २७ र १९ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । यससँगै छिमेक लघुवित्तको प्रतिकित्ता १२४० रुपैयाँ र गणपति लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७४.७९ रुपैयाँ कायम भएको छ । यससँगै आजदेखि यी चार कम्पनीको सेयर खरिद गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउँदैनन् ।