बजार घटेर आत्तिदै लगानीकर्ता, नेप्सेले १६७ प्रतिशत लाभांश दिने गरी नाफा गर्नुपर्ने हो ?

काठमाडौं । कोभिड महामारीको कारण निजी क्षेत्रको लगानी रहेका कम्पनी तथा संस्थाहरु संकटबाट गुज्रिरहेका छन् । नेपाल राष्ट्र बैंककै नियमन दायराभित्र रहेका वाणिज्य बैंकहरुको औसत प्रतिफल १४.६९ प्रतिशत छ । बैंकहरुमध्ये नविल बैंकले मात्रै ३० प्रतिशतभन्दा बढी (३८ प्रतिशत) लाभांश दिएको छ । तर, नेपाल राष्ट्र बैंक संचालक रहेको एउटा कम्पनीले १६७ प्रतिशत लाभांश दिने सुचना सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक नै संचालक रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरधनीलाई १६६.६७ प्रतिशत लाभांश दिन सार्वजनिक सुचना प्रकाशित गरेको छ । यसमध्ये नेप्सेले सेयरधनीलाई शतप्रतिशत नगदा लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर खरिद गर्नको लागि प्रदान गरिने मार्जिन प्रकृतिको कर्जामा सीमा तोकेको छ । नयाँ व्यवस्था अनुसार एउटा लगानीकर्ताले सेयर खरिद गर्नको लागि मार्जिन प्रकृतिको कर्जा एउटा बैंक वा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक वा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाको लगानीकर्ताले विरोध गरिरहेका छन् । केही अघि मात्रै ३२ सय विन्दुको नजिक पुगेको नेप्से परिसुचक २२ सयको हाराहारीमा झरेको थियो । यसरी बजार घट्नुका पछाडि राष्ट्र बैंकको मार्जिन कर्जा सम्बन्धी सोही व्यवस्था हो भन्ने लगानीकर्ताको आरोप छ । राष्ट्र बैंकले गरेको मार्जिन कर्जा सम्बन्धी व्यवस्था हटाउन लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्मादेखि राजनीतिक दलका नेताहरु समेत गुहारेका थिए । यस्तै, राष्ट्र बैंकले आफ्नो नियम दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई कुल वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था गरिदिएको छ । तर, राष्ट्र बैंक नै संचालक रहेको नेप्सेले भने ६६.६७ प्रतिशत बोनस सेयर र शतप्रतिशत नगद लाभांश वितरण गर्न पाएको छ । अझ लघुवित्त वित्तीय संस्थाहरुको लागि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा थप झन्झटिलो व्यवस्था पूरा गर्नुपर्ने नियम राष्ट्र बैंकले लगाएको छ । राष्ट्र बैंककै अग्रसरतमा स्थापना भएको नेपाल क्लियरिङ हाउसले पनि ४० प्रतिशत लाभांश दिने सार्वजनिक सुचना प्रकाशित गरेको छ । यस्तो लाभांशमध्ये २ प्रतिशत नगद र ३८ प्रतिशत बोनस सेयर छ । यद्यपि, नेपाल क्लियरिङ हाउसमा अधिकांश वाणिज्य बैंकहरु सेयरधनीको रुपमा छन् । तर, क्लियरिङ हाउसले दिएको लाभांश कुनै पनि वाणिज्य बैंकहरुले यो वर्ष दिएकोभन्दा बढी छ । पब्लिक कम्पनी बनाउने छैन सुरसार सरकारी निकायहरुको लेखापरीक्षण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले विगतदेखि नै राष्ट्र बैंकले नाफा कमाउने गरी स्थापना भएका कम्पनीहरुमा लगानी गर्न नहुने उल्लेख गर्दै आएको छ । महालेखाले राष्ट्र बैंकलाई नेप्सेमा रहेको सेयर विक्री गर्न सुझाव दिदै आएको छ । सरकारले नेप्सेमा रहेको राष्ट्र बैंकसहित सरकारको लगानी निजी क्षेत्रलाई विक्री गरी नेप्सेको निजीकरण गर्ने घोषणा गरेपनि अझै कार्यान्वयनमा आउन सकेको छैन । मनग्गे आम्दानी प्राप्त हुने भएकोले राष्ट्र बैंकले पनि नेप्सेमा रहेको आफ्नो (१४.६ प्रतिशत संस्थापक) सेयर स्वामित्व विक्री गर्न चासो देखाएको छैन ।

नेप्सेले १६६ प्रतिशत लाभांश वितरण गर्ने, पारित गर्न डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६६.६७ प्रतिशत बोनस र १०० प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १६६ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा ११६ प्रतिशतले बढी हो । नेप्सेले अघिल्लो आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र करसहित ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । नेप्सेले पुस २९ गते बिहान ११ बजे आफ्नै कार्यालयमा ४०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । उक्त सभामा जान कम्पनीले आगामी पुस १८ गते बुक क्लोज गर्दै छ । हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । ६६.६७ प्रतिशत बोनस सेयर पछि नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो एजीएम, ३३% लाभांशसहित सञ्चालकको भत्ता बढाउने प्रस्ताव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे दरबारमार्गस्थित आफ्नै सभाहलमा १६औं वार्षिक साधारण सभा गर्न लागेको हो । बैंक सञ्चालक समितिको बैठकले सभामा लाभांश प्रस्तावसहित सञ्चालकको भत्ता बढाउने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई बैंकको सभाले पारित गर्नुपर्ने छ । बैंकले पुँजी बढाउने प्रस्ताव समेत गरेको छ । हाल ९ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ३० प्रतिशत पछि ११ अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ । त्यस्तै, सञ्चालक समितिको भत्ता तथा सेवा सुविधा बढाउने पनि विशेष प्रस्ताव रहेको छ । र, नेपाल सरकारबाट बैंकको सेयर पुँजीमा लगानी बापत पाउने रकम अर्थमन्त्रालयको नाममा सेयर कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । सभामा जान बैंकले आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।