सीवाईसी नेपाल लघुवित्तले अघि बढायो आईपीओ जारी गर्ने प्रक्रिया, माग्यो बोर्डको स्वीकृति
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फाइल पेश गर्दै करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । संस्थाले कूल ३ लाख ९५ हजार ३३६ कित्ता अर्थात ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न गत असोज ११ गते मात्रै बोर्डसँग स्वीकृति मागेको छ ।बोर्डको स्वीकृति पाएपश्चात संस्थाले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ । संस्थाले आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता भइसकेको छ । बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र पाएको छ । संस्थाले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन ९प्राप्ति० गरिसकेको छ ।
२१ लाख बढीले भरे बुद्धभूमि नेपालको आईपीओ
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आईपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । अन्तिम दिन साँझ ५ बजेसम्ममा उनीहरुले २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन संस्थाले माग गरेको भन्दा ३३.१६ गुणा बढी हो । कम्पनीले गत असोज ११ गतेबाट सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतअर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै कम्पनीको आईपीओ निष्काशन आजबाट बन्द भएको छ ।
रिडी हाइड्रोले १२.६ प्रतिशत लाभांश दिने, डाक्यो साधारणसभा
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्छ । सो प्रयोजनको लागि कम्पनीले आफ्नो २०औं वार्षिक साधारण सभा आगामी कार्त्तिक १२ गते बोलाएको छ । जुन भर्च्युअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।