वार्षिक साधारणसभामा जान गोर्खाज फाइनान्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । गोर्खाज फाइनान्स आगामी बैशाख २१ गते वार्षिक साधारणसभामा जाँदै छ । चैत २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको सभाको मिति तय गरेको हो । संस्थाले आथिर्क वर्ष २०७६/७७ को सभा सो दिन बिहान ११ बजे भौतिक उपस्थिति तथा भर्चुअल (भिडियो कन्फरेन्स) माध्यमबाट गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केट क्याटेरिङ्ग इभेन्टमा हुन लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको बैशाख ६ गतेदेखि बैशाख २१ गतेसम्म बुक क्लोज हुँदै छ । संस्थाले सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश नपाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव चैत २६ गते अपरान्ह बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेकाे हाे । बैंठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ८४ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र करप्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बीएफआईएनले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन)ले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरका ५५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् । यससँगै संस्थाले नियामक निकाय नेपाल धताेपत्र बाेर्डकाे अनुमति पाएसँगै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्रा अर्थात ५५ लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।