महालक्ष्मी विकास बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत ३ गते) मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्शको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ कायम रहेको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल हाइड्रोको पनि १५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ । यससँगै अबको कारोबारमा दुबै कम्पनीको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यबाट शुरु हुने छ ।

महिला लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, अधिकतम मूल्य ९३९ रूपैयाँ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर मंगलबार (चैत ३ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एमएलबीएसएल दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३१३.१६ रुपैयाँ र अधिकतम ९३९.४८ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि हात्तिसारस्थित एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

पाँच कम्पनीले टेरेनन् ऐन, एक अर्कालाई देखाउँदै कम्पनी रजिष्ट्रार र दूरसंचार प्राधिकरण

काठमाडौं । दुरसञ्चार क्षेत्रका ५ सेवाप्रदायक कम्पनी पब्लिकमा गएका छैनन् । २०७४ सालमा संशोधन भएको कम्पनी ऐन अनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवाप्रदायक कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने भए तापनि ५ कम्पनीले अटेरी गरेका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार सुबिसु केबल नेट, नेपाल स्याटेलाइट टेलिकम, ब्रोडलिंक, स्काई केबल र सिम्पल मिडिया प्रालि पब्लिक कम्पनीमा गएका छैनन् । ऐन अनुसार ५ करोडबढी चुक्ता पुँजी भएका कम्पनीहरु २०७६ बैशाखभित्र नै पब्लिक कम्पनीमा जानुपर्ने थियाे । प्राधिकरणको तथ्यांक अनुसार पब्लिक कम्पनीमा नगएका सेवाप्रदायक कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी सिम्पल मिडिया प्रालि र सुबिसु केबल नेट प्रालिको रहेको छ । हाल सिम्पलको ३३ करोड र सुबिसुको २२ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी छ । यस्तै, १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल स्याटेलाइट टेलिकम र ब्रोडलिंक तथा १२ करोड चुक्ता पुँजी रहेको स्काई केबल पब्लिक कम्पनीमा गएका छैनन् । दूरसञ्चार सेवाप्रदायक मध्ये एनसेल, नेपाल टेलिकम, युनाइटेड टेलिकम लिमिटेड (युटिएल), वल्र्डलिंक कम्युनिकेसन, डिश मिडिया नेटवर्क, प्रभु डिजिटल पब्लिक कम्पनीका रुपमा सूचीकृत भइसकेका छन् । दूरसञ्चार कम्पनी मध्ये सर्वसाधारणलाई सेयर दिनेमा भने नेपाल टेलिकम मात्रै छ । १५ अर्ब चुक्ता पुँजी रहेको नेपाल टेलिककमा सरकारको ९१ दशमलव ४९, सर्वसाधारणको ४ दशमलव ४४, कर्मचारीको ४ दशमलव ०४ र नागरिक लगानी कोषको शून्य दशमलव ०३ प्रतिशत सेयर छ । पब्लिकका लागि सुबिसुको निवेदन पब्लिक कम्पनीका लागि सुबिसु कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा बन्दाबन्दी अघि नै निवेदन दिइसकेको कम्पनीका अध्यक्ष सुधिर पराजुली बताउँछन् । ‘हामीले सबै प्रक्रिया पूरा गरेर कम्पनी रजिष्टारको कार्यालयमा निवेदन दिइसकेका छौं, उताबाट थप जानकारी आएको छैन’, उनले भने । उनका अनुसार कोरोना महामारी सुरु हुनुभन्दा अगाडीनै सबै प्रक्रिया पूरा गरेर निवेदन दिए तापनि हालसम्म निर्णय भएको छैन । आफूहरुले गर्नुपर्ने काम सबै सकेको भएपनि सरकारले गर्नुपर्ने काम मात्र बाँकी रहेको उनी बताउँछन् । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारी पब्लिकमा नगएका कम्पनीहरुलाई आबद्ध हुन ताकेका भइरहेको बताउँछन् । ‘हामीले सम्बन्धित नियामक निकायसँग समन्वय गरिरहेका छौं, नियामक निकायले कम्पनी नवीकरण गर्दा नै अनिवार्य रुपमा पब्लिकमा जानुपर्ने बाध्यता नराख्दा धेरै कम्पनी आबद्ध भएनन्, कम्पनी ऐनमा पब्लिकमा जानुपर्ने बताए पनि नगएमा के गर्ने भन्ने कुरा स्पष्ट नहुँदा ताकेका गर्न सकिएन’, उनले भने । यता दुरसञ्चार सेवा प्रदायकको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणका अधिकारीहरु भने सेवा प्रदायक कम्पनीलाई अनिवार्य रुपमा पब्लिक कम्पनीमा आबद्ध हुन जानकारी गरिसकेको बताउँछन् । सबै कम्पनीलाई जानकारी गराएको भन्दै आबद्ध भए नभएको जिम्मा कम्पनी रजिष्ट्रार कार्यालयको रहेको उनीहरुको भनाई रहेको छ ।