सूर्या लाइफले गर्यो १२ प्रतिशत बोनस शेयर प्रस्ताव, बीमा समितिको स्वीकृतिपछि वितरण गर्ने
काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैशाख २७ गते बसेको बैठकले बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको १ अर्ब १३ करोड १९ लाखको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव राजु राजचलले जनाएका छन् । बीमा समितिको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने कम्पनी सचिव राजचले जनाए ।
एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद जारी गर्ने, जेठ १४ गतेदेखि बिक्री शुरु
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई एक बराबर ३ को अनुपातमा अर्थात ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको सो मात्रा अर्थात अंकित मूल्य १०० रुपैयाँको दरले ८२ लाख १९ हजार ४७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ नाघ्ने छ । इच्छुक सेयरधनीले आगामी जेठ १४ गतेदेखि असार १६ गतेसम्म कम्पनीको हकप्रद सेयर किन्न सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ । उक्त हकप्रद सेयर जारी गर्नको लागि कम्पनीले “केयर-एनपि आईपीओ ग्रेड ४” प्रमाणपत्र पाएकाे छ । उक्त ग्रेडले कम्पनीको अवस्था औषतभन्दा कमजाेर रहेको देखाउँछ ।
सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने, एनएफआरएस लागू गर्नेमा निर्जीवनतर्फ पहिलाे
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । ८६ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख २२ हजार ९३४ रुपैयाँ हुनेछ । उक्त बोनस दिने प्रस्ताव वैशाख २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बाेनसमा लाग्ने कर भने सेयरधनीले बेहाेर्नु पर्नेछ । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश वितरण गरिने छ । एनएफआरएस लागू भएपछि निर्जीवनतर्फ सगरमाथा इन्याेरेन्स कम्पनीले पहिलाे पटक लेखापरिक्षण सम्पन्न गरी बीमा समितिमा प्रतिवेदन पेश गरेकाे छ । बीमा समितिबाट स्वीकृतपछि कम्पनीले साधारणसभा बाेलाउनेछ । बाेनस सेयर दिएर पुँजी १ अर्ब पुर्याउने कम्पनीकाे पूर्व याेजनाअनुसार कम्पनी अगाडि बढ्न सफल भएकाे छ । कम्पनीले अघिल्लाे वर्षकाे नाफा पनि संचित गरी राखेकाे थियाे । उच्चदरकाे लाभांश पाउने भएपछि कम्पनीकाे सेयर मूल्यमा केही वृद्धि देखिएकाे छ । विहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता १५३० रूपैयाँमा काराेबार भएकाे छ । निर्जीवन बीमा कम्पनी मध्ये हाल सगरमाथा इन्स्याेरेन्स कम्पनीकाे सेयर मूल्य सबैभन्दा बढी छ । विगत एक वर्षमा कम्पनीकाे सेयर मूल्य न्युनतम १२३१ रूपैयाँ भएकाे छ भने अधिकतम १५३० रूपैयाँ भएकाे छ ।