सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै कूल ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हालसम्म कूल ८ करोड ४६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । २४ अर्ब २० करोड रुपैयाँ बजार पुँजीकरण रहेको यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते, कम्पनी सचिवमा श्रेष्ठ नियुक्त हुँदै
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।